Logo

सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

बझाङ-वर्षायाम सुरु भएसंगै सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । तीनै तिरबाट सेती नदी र बाहुलीगाड खोलाले कटान सुरु गरेपछि जोखिम बढेको हो । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको छ । सदरमुकामको पुर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ । बझाङको सदरमुकाम चैनपुरको पुरानो नाम कुमालतोडो हो । २०२८ सालभन्दा पहिला बझाङकोे सदरमुकाम मेल्लेख थियो । २०२८ सालमा मेल्लेख बाट सदरमुकाम चैनपुर सारिएको हो । १९९० तिरको समयमा चैनपुर बगाएर चैनपुरको बीच भागमा रहेको सुर्मादेवीको मन्दिर मात्र बाँकी रहेको थियो । खोलाले बगाएको बगरमा बस्ती बसेको र कुनै समय खोलामै विलय हुन सक्ने खतरा रहेको जानकारहरू बताउँछने । जोखिम बढ्दै गएपछि चैनपुरवासी चिन्तित छन् ।
दुई वर्षअघि असार महिनामा बाहुलीगाड खोलामा आएको बाढीले सदरमुकामलाई जिल्लाका दक्षिण तथा पश्चिमी क्षेत्रकाहरू जोड्ने झोलुङ्गे पुल बगाएको थियो । सोही दिन आएको बाढीका कारण बाहुलीगाड खोलाले धार परिवर्तन गरी सदरमुकाम तिरको क्षेत्र कटान सुरु गरेपछि सदरमुकामवासीहरू बढी खतराको महसुस गर्न थालेका छन् । बाहुलीको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भयो । सदरमुकाम चैनपुर बचाउन तटबन्धनको काम हुन थालेको छ । बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डरले त्रसित भएको नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए । उनले भने बाहुलीगाडमा तटबन्धनको काम भइरहेको छ । त्यो हरेक वर्षायाममा जाने पहिरो हो । डाडाँको बीच भागबाट सडक खनिएकाले पहिरो आएर सेती थुनिन सक्ने खतरा छ ।
सरकारी कार्यालय र निजी आवासीय क्षेत्र गरी सेती र बाहुलीको बीचमा एक हजारभन्दा बढी घर तथा कार्यालय छन । जोखिम बढेपछि जिल्ला प्रशासनले चैनपुर आसपासको सेती र बाहुली खोलाबाट ढुंगा, बालुवा निकाल्न पनि रोक लगाएको छ । जिल्ला सदरमुकाम भएकाले गाउँबाट बसाइँ सरी घर, घडेरी किन्ने क्रम पनि बढिरहेको छ । सेती र बाहुलीले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ । बहुलीगाडले बेला–बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । दुई बर्ष अघि ३२ वर्ष देखी नबगाएको झोलुङ्गे पुल त हेर्दा हेर्दै बगायो । चारैतिरबाट कटान गरिरहेको छ कुन बेला बगाएर लैजान्छ भन्ने चिन्ताले पिरोली रहेको स्थानिय धर्मराज रसाईलीले बताए । यता मनसुन सुरु भएसँगै बझाङका अधिकांश ठाउँ बाढी पहिरोको जोखिम बढेकाले नदी तथा खोला किनाराका वस्तीहरूमा बसोबास गरिरहेकाहरूलाई विशेष सर्तक रहन जिल्ला विपद् व्यवस्थापन शाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्