समुदायलाई उद्योग हस्तान्तरण «

समुदायलाई उद्योग हस्तान्तरण

महिलाहरूलाई स्वाबलम्बन गराउने उद्देश्यले पोखरामा एक दालमोठ उद्योग समुदायमा हस्तान्तरण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–१३ का अध्यक्ष दर्शन लामाको सक्रियतामा पहिलो पटक महानगरमा दालमोठ उद्योग सञ्चालन भएसँगै मंगलबारदेखि नै उक्त उद्योग समुदायलाई हस्तान्तरण गरिएको हो ।
पोखरा लेखनाथ महानगरपालिका–१३ नव दुर्गाटोलमा करिब १० लाखको लागतमा हालै सञ्चालनमा ल्याएको महालक्ष्मी दालमोठ उद्योग मंगलबार एक समारोहकाबीच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले समुदायलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर जिसीले महानगरमा उद्यमशीलको सहर बनाउने आफ्नो अभियानमा पहिलो प्रयास सुरु भएको बताए । उद्योगबाट दालमोठ, भुजिया, बदाम, फ्राइ चिउरा, ढुम्रो लगायतका वस्तुहरूको उत्पादन हुँदै आएको छ ।
सानो लगानीमा वढी उत्पादन गराउनका लागी थालनी भएको बताउँदै मेयर जिसीले सुरुवातमा उत्पादन भएको वस्तुलाई नै बजारीकरण गराउनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । उनले भने, “पोखरा लेखनाथ महानगरपालिका–१३ को स्वाबलम्बन कार्यक्रमद्वारा सञ्चालित उक्त उद्योग सञ्चालनमा ल्याएका हौं, महिलाहरूलाई उद्यमी बनाउने हाम्रो प्रयास भएको छ ।” उक्त उद्योगलाई दिगो टिकाउ र गुणस्तरीय बनाउनका लागि महानगरले समन्वय गर्ने उनले बताए । महालक्ष्मी दालमोठ उद्योगको पहिलो उत्पादन नमुनायोग्य रहेकाले बजार खोज्न नपर्ने बताउँदै जिसीले यसको प्रवद्र्धनका लागि आफूले सहयोग गर्ने जनाए ।
वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले आर्थिक क्रान्तिको सुरुवात आफ्नै वडाबाट सुरु गरिएकोमा यस्तो अभियान पोखराका धेरै क्षेत्रमा आवश्यक भएको बताए । उनले भने, “घरायसी कामबाट फुर्सद भएको समयलाई सदुपयोग गर्नका लागि आफ्नो वडामा भएका दिदी–बहिनीहरूलाई समाहित रूपमा जम्मा भई उक्त उद्योग सञ्चालन गरेका छन् ।”
उद्योगमा १३ नम्बर वडामा रहेका १७ जना दिदी–बहिनी र ३ जना कर्मचारी कार्यरत रहेको र मंगलबारबाट उक्त उद्योग महिलाहरूद्वारा सञ्चालित हुने भएको अध्यक्ष लामाले बताए । उद्योगको स्वामित्व पाएको दिदी–बहिनी समूह १३ नम्बर वडाका सीता पहारीले उक्त उद्योगबाट आफूहरू उद्यमशीलता बन्न प्रेरित गर्ने बताए ।
दीननाथ बराल 

प्रतिक्रिया दिनुहोस्