बाँके र बर्दियामा युरिया मलको अभाव «

बाँके र बर्दियामा युरिया मलको अभाव

बाँके-धान खेतीलाई आवश्यक पर्ने समयमा अन्न भण्डार मानिने बाँके र बर्दियामा रासायनिक मलको अभाव भएको छ । धान खेतीमा युरिया मल हाल्नुपर्ने समयमा अभाव हुँदा यहाँका कृषकहरु उत्पादन घट्ने चिन्तामा रहेका छन् । यस वर्ष समयमै धान रोपाइँ सुरु गरेका बाँके र बर्दियाका कृषकले रासायनिक मल अझैसम्म पनि पाउन नसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार यस वर्ष बाँके र बर्दियामा धान रोपाइँ अन्तिम चरणमा रहेको छ । धान रोपेको तीन सातापछि युरिया मल हाल्नुपर्ने हुँदा उक्त समयमा मल नपाउँदा दुवै जिल्लाका किसानहरु समस्यामा परेको ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । हरेक वर्ष खेतीपातीको समयमा मलको समस्या बढदै गइरहेकोले रासायनिक मलको विकल्प खोज्नुपर्ने उनको भनाई छ । “अब कृषकले हरियो मल, जैविक मल उत्पादनमा जोड दिनुपर्छ” उनले भने ।
गुणस्तरीय बीउ र सिँचाइको समस्या व्यहोरीरहेका किसानले बिगतमा जस्तै यस वर्षपनि रासायनिक मलको अभाव झेल्नु परेको छ । खेती लगाउने समयमा मलका लगि विभिन्न स्थानमा धाउन बाध्य भएपनि मल पाउन नसकेपछि उत्पादन राम्रो नहुने हो की भन्ने चिन्ता लागेको नेपालगन्ज १७ का कृषक नकुलसिंह ठाकुरले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार तेस्रो मुलुकबाट मल आयातमा ढिलाई भएका कारण युरिया मलको अभाव भएको हो । डिएपी मल आयात भएपनि युरिया मल खरिद प्रकृयामा रहेकोले मल आउँदा बित्तिकै वितरण गर्ने कार्यालय प्रमुख रमेश पौडेलले बताए ।
सरकारले मुलुकको अर्थतन्त्रको आधार कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइरहँदा हरेक वर्ष किसानले मल, बीउलगायतका समस्या झेल्दै आएका छन् । सरकारी नीति तथा कार्यक्रम घोषणामा मात्र सीमित भएका कारण मानो रोपेर मुरी उब्जाउने सोचमा रहेका किसानहरुले हरेक वर्ष लगानी डुब्ने त्रासमा बाँच्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्