महानगरमा २० करोड कम राजस्व संकलन «

महानगरमा २० करोड कम राजस्व संकलन

भरतपुर महानगरले यो वर्ष कर संकलनमा लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । १ अर्ब ११ करोडको लक्ष्य भन्दा झण्डै २० करोड बराबरको राजस्व संकलन गर्न नसक्ने देखिएको छ । आर्थिक वर्ष सकिन अब ३ दिनमात्रै छ ।
२८ गतेसम्म महानगरले ९१ करोड ५३ हजार ५ सय ५७ रुपैयाँमात्र आम्दानी गरेको देखिन्छ । महानगरको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख अनुज घिमिरेले चैत यता राजस्व संकलन गर्न सोचे अनुसारको नभएको बताए ।
“अधिकाँश करदाताहरु आर्थिक वर्षको अन्त्यतिरका महिनामा आउनुहुन्थ्यो”, उनले भने, “कोरोना संक्रमणको त्रासले गर्दा राजस्व बुझाउन आउनेको चाप बढ्न सकेको छैन ।” फागुनदेखि वडातहमै पुगेर असुली गर्ने संयन्त्र बनाएपनि चैतदेखि हुन पाएन । वडा सदस्य १ जना र राजस्व महाशाखाबाट २ जना वडा तहका घरदैलोमै पुगेर राजस्व संकलन अभियान चलाउन नपाएपछि समस्या परेको हो । घरजग्गा रजिष्ट्रेशन, सम्पत्ति कर, घरबहाल कर, नक्सापास दस्तुर, व्यवसाय कर मुख्य आम्दानीको स्रोत हो ।
मालपोत कार्यालयले घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन गरी ४० प्रतिशत महानगरलाई बुझाउने गर्छ । घरजग्गाको समेत कारोबारमा गिरावट आएपछि राजस्व समेत कम संकलन भएको छ । ३५ करोड ४० लाख ७७ हजार रुपैयाँ घरजग्गा रजिष्ट्रेशनतर्फ, ४ करोड ३६ लाख ४३ हजार ७ सय २१ रुपैयाँ सम्पति कर, ५ करोड ९ लाख ९६ हजार ८ सय २ रुपैयाँ नक्सा पास दस्तुर, ४ करोड ५८ लाख १ हजार ८९ रुपैयाँ व्यवसाय कर संकलन भएको छ । “यसपाली आम्दानीको लक्ष्य पूरा गर्न नसकिने अवस्था छ”, घिमिरेले भने, “तर संकलित आय सन्तोषजनक मान्नुपर्छ ।” गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ९२ लाख ५२ हजार ३ सय ९७ रुपैयाँ आम्दानी गरेको थियो ।
आर्थिक वर्ष २०७४÷०७५ मा ४९ करोड ११ लाख ७९ हजार ७ सय ५० रुपैयाँ आन्तरिक आय गरेको थियो । आन्तरिक आय कम संकलन हुने अनुमानका आधारमै महानगरले वडागत बजेटका लागि १ करोडको सिलिङ पठाएको थियो । चालू वर्षका लागि १ करोड ३० लाख बढी वडागत बजेट विनियोजन गरेको थियो । महानगरका १ लाख २० हजार बढी करदाता छन् । सम्पति कर, घरबहाल कर, व्यवसाय कर, नक्सापास दस्तुर लगायतका शिर्षकमा आउने कर कम संकलन भएको देखिन्छ ।

घरबहाल कर बढ्दो
महानगरमा वर्षेनी घरबहाल कर धेरै संकलन हुन थालेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १ करोड ६६ लाख बढी संकलन भएको छ । अघिल्लो वर्ष ४ करोड २९ लाख ६२ हजार ३ सय ८१ रुपैयाँ घरबहाल कर संकलन भएको थियो । यो वर्ष ५ करोड ९६ लाख ६२ हजार ७५ रुपैयाँ संकलन भएको छ । “आगामी वर्ष यो कर धेरै उठ्ने अनुमान छ”, राजस्व व्यवस्थापन महाशाखा प्रमुख घिमिरेले भने, “हामी घरभाडाको दर निर्धारण गर्दैछौँ, अहिले सम्झौताका आधारमा कर लिदा उल्लेख्य संकलन हुन सकेन ।”
अझैपनि संस्थागत घरबहाल कर आन्तरिक राजस्व कार्यालयले संकलन गर्छ । महानगरले घर तथा जग्गा भाडामा व्यक्तिगत प्रयोजनका लागि २, कृषि प्रयोजनमा १ र व्यापारिक प्रयोजनमा १० प्रतिशत बहाल कर लिने गर्छ । सम्झौतालाई नै आधार मानेर घरभाडामा कर लगाउने गरेको छ । सम्झैतामा ज्यादै न्यून भाडा उल्लेख गर्ने गरेको देखिन्छ । महानगरले लकडाउनका बेला घरबेटीले घरभाडा पूर्ण वा आंशिक छुट दिएको प्रमाण वडाबाट सिफारिस गरेर ल्याएमा सो अवधिको कर नलिएको उनले बताए ।

जनसहभागिता अर्को वर्ष घट्ने
महानगरले विकास पूर्वाधारमा जनसहभागिता गराउँदै आएको छ । १० देखि ५० प्रतिशत स्थानीयको लगानी सुनिश्चित पछिमात्र महानगरले उपभोक्ता समितिमार्फत १ करोड कमका योजना कार्यान्वयन गर्दै आएको छ । जनसहभागितामार्फत यो वर्षमात्रै २० करोड ६९ लाख ८२ हजार ९ सय ३१ रुपैयाँ आन्तरिक आय भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा २१ करोड ६५ लाख ६४ हजार ९ सय ३६ रुपैयाँ संकलन भएको थियो । “आगामी वर्ष १ करोडभन्दा अझै कम सीमा निर्धारण गर्ने तयारी छ, केही दिनमा निर्णय आउने छ”, उनले भने, “यो व्यवस्था लागु भएमा जनसहभागिता झनै घट्ने छ, समग्र आम्दानीमा पनि कमी हुन जान्छ ।”

प्रतिक्रिया दिनुहोस्