गिट्टी मै आश्रित जिन्दगी

घोराही उपमहानगरपालिका–१८ अम्मापुर निवासी हिमा विकले कटुवा खोलामा गिट्टी कुट्न थालेको करिब ६ वर्ष भएको छ ।
श्रीमान् साथमै हुँदासम्म खेती किसानी गर्ने विक श्रीमान्को निधनसँगै दैनिक गुजारा चलाउन समस्या भएपछि गिट्टी कुट्न कटुवाखोलामा आएको बताइन् । श्रीमान् हुँदासम्म खान लाउन समस्या थिएन तर श्रीमान्को निधन भएपछि साँझ बिहान एक छाक खानसमेत समस्या भयो,” उनले भनिन्, “त्यसपछि गिट्टी कुट्न सुरु गरें ।” विकको उमेरले आधा जिन्दगी काटिसकेको छ । तर आपूmलाई उमेर कति हो थाहा छैन । गिट्टीको खातमाथि बसेकी विकले हात चलाउँछिन् र ढुंगा फुटाउँछिन् अनि गिट्टी बनाउँछिन् । त्यही गिट्टी बेचेर पैसा ल्याउने र साँझ बिहान खानलाई चामल र तरकारी किन्ने गरेकी छिन् । “श्रीमान् हुँदासम्म गाउँमै खेतीपाती गरेर खान लाउन पुग्थ्यो,” विक भन्छिन्, “बुढा बितेपछि खेतीपाती गर्ने मान्छे भएन र ढुंगा कुट्न आएकी हुँ ।” ढुंगा कुटेर आएको पैसाले दैनिक चलाउने गरेको उनको भनाइ छ ।
त्यस्तै बताउँछिन् सुशीला घर्ती । उनी पनि विगत एक वर्षदेखि त्यही कटुवा खोलामा गिट्टी कुट्ने काम गर्दै आएकी छन् । कमजोर आर्थिक अवस्था भएको बताउने घर्ती घरको काम सकेर दैनिक खोलामा गिट्टी कुट्न आउने गरेकी छन् । “घरमा सम्पति छैन, दैनिकी गुजारा गर्ने ज्याला मजदुरी गरेरै हो,” सुशीलाले भनिन्, “श्रीमान् बजारमा काम गर्न जानुहुन्छ र म खोलामा गिट्टी कुट्न जान्छु ।” काम गरेर आएको पैसाले साँझ बिहान खान लाउनसँगै छोराछोरीलाई पढाउने गरेको सुशीला बताउँछिन् । आपूmहरूजस्तै धेरै महिला खोलामा गिटट्ी कुट्न आउन थालेको सुशीलाले बताइन् ।
–अमरराज आचार्य