सांसद गाउँपालिका महासंघका अध्यक्ष «

सांसद गाउँपालिका महासंघका अध्यक्ष

गाउँपालिका महासंघनामक गैरसरकारी संस्थाको अध्यक्ष संघीय संसद्को प्रतिनिधि सभाका सांसद नै छन् भन्दा उदेक मान्नु पर्दैन । सांसद घनश्याम खतिवडा अहिले पनि गाउँपालिका महासंघका अध्यक्ष हुन् ।
हाल गाउँपालिका महासंघमा नाम बद्लिएको साविकका गाउँ विकास समितिको छाता संगठनका रूपमा राष्ट्रिय निर्देशन ऐनअनुसार बनेको तत्कालीन गाउँ विकास समिति महासंघमा प्रतिनिधित्व गर्दै आएका थिए । तर खतिवडा अहिले संघीय संसद्को प्रतिनिधिसभाको सांसद बनिसक्दासमेत उनको यो पदीय दायित्व अहिलेसम्म पनि निरन्तर छ ।
गाउँपालिका महासंघका एक कर्मचारीले अधिवेशन नभएकोले खतिवडा नै गाउँपालिका महासंघका अध्यक्ष रहनुभएको उल्लेख गरे । यसैगरी धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद यस महासंघको महासचिव छन् । नगरपालिकाका प्रमुख गाउँपालिका महासंघको महासचिव रहेको ती कर्मचारीले बताए ।
केन्द्रीकृत व्यवस्थामा स्थानीय निकायका हैसियत भएका ती निकाय स्थानीय तह पुनर्संरचना पछि स्थानीय तहमा रूपान्तरण भई स्थानीय सरकारको हैसियतमा पुगेका छन् ।
तत्कालीन स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमवली २०५६ पछि नगरपालिका, जिल्ला विकास समिति र गाविसको सशक्तिकरणका लागि तीनै निकायका अलगअलग महासंघ राष्ट्रिय निर्देशन ऐनअनुसार दर्ता भई गैरसरकारी संस्थाका रूपमा सञ्चालनमा थिए । तीनै महासंघले आआफ्नो कार्यक्षेत्र बनाएर अस्तित्वमा रहे पनि अहिले स्थानीय तह भएपछि नगरपालिका महासंघ, जिसस समन्वय महासंघ र गाउँपालिका महासंघमा रूपान्तरित भएर कार्य गर्दै आएका छन् । गाउँपालिका महासंघले धमाधम प्रादेशिक कमिटी बनाउँदै छ भने नगरपालिका महासंघले पनि संघीय संरचना बनाएको छ ।
स्थानीय तहको एउटै महासंघ भए पनि हुने स्थितिमा अलगअलग रूपमा संगठिन हुने जमर्कोमा तीनवटै महासंघ छन् ।
तर विडम्बना कस्तो भने तत्कालीन मन्त्रीसमेत रहेका जीवनबहादुर शाहीले पनि जिविस महासंघको केन्द्रीय सदस्य पद त्यागेनन् । यसैगरी तत्कालीन सांसदद्वय भरतबहादुर खड्काले पनि जिविस महासंघको सदस्य छोडेनन् भने धुव्र वाग्लेले पनि नगरपालिका महासंघको आबद्धता छोडेनन् । यसैगरी गाविस महासंघकी पूर्वअध्यक्ष स्वर्गीय मोहिन लिम्बुले पनि सांसद भए पनि अध्यक्ष पद नै छोडिनन् ।
उता पहिलो संविधानसभामा सभासद् निर्वाचित भएपछि जिविस महासंघका तत्कालीन अध्यक्ष कृष्णप्रसाद सापकोटाले राजीनामा दिएका थिए । पूर्वसांसद सापकोटाले भने, “त्यसरी राजीनामा दिने ममात्रै रहेछु ।”

प्रतिक्रिया दिनुहोस्