डिभिजन फुटबल प्रतियोगिता २८ कात्तिकदेखि

काठमाडौं उपत्यकामा पहिलो पटक निजी स्तरको क्लबको आयोजनामा हुन लागेको ए डिभिजन फुटबल प्रतियोगिता हुने भएको छ । विभिन्न शीर्षकमा गरेर ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी पुरस्कार राशिको व्यवस्था भएको ए डिभिजन फुटबल प्रतियोगिता पहिलोपटक हुन लागेको हो ।
चन्द्रागिरी नगरपालिका नैकापको ब्राइट युथ क्लबले कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म फुटबल प्रतियोगिता गर्न लागेको क्लबका उपाध्यक्ष कृष्ण बस्याल किसनले जानकारी दिए । प्रतियोगितामा ७ वटा ए डिभिजन क्लबका साथै आयोजक ब्राइट युथ क्लबसहित ८ वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संकटा क्लब, हिमालयन शेर्पा, फ्रेन्डस्, जाउलाखेल युथ र आयोजक ब्राइट युथ क्लबको सहभागिता रहनेछ ।
काठमाडौंमा पहिलो पटक निजी स्तरको क्लबले ए डिभिजन फुटबल गरेर इतिहास रच्न लागेको आयोजक क्लबका अध्यक्ष रमेश बुढाथोकीले बताए । प्रतियोगितामा प्रथम हुनेले ५ लाख रुपैयाँ नगदसहित गोल्ड ट्रफी प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले २ लाख ५० हजार नगदका साथै ट्रफी पाउनेछ । बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने क्लबका उपाध्यक्ष किसनले बताए । त्यस्तै हरेक खेलमा म्यान अफ द म्याच बन्ने खेलाडीले ३ हजार रुपैयाँ पाउनेछन् । सहभागी सबै क्लबलाई ३० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक नेपाल जनरल मार्केटिङ (हिरो बाइकको आधिकारिक विक्रेता) हो ।