Logo

सेयर बजार सचेतना तालिम

 सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले नेपाल स्टक एक्सचेन्ज लिमिटेड र युनाइटेड फाइनान्ससँगको संयुक्त आयोजनामा प्रदेश नं. ५ को दाङ र बुटवलमा क्रमशः चैत १ र २ गते ‘लगानीकर्ता सचेतना कार्यक्रम’ आयोजना गरेको थियो । उक्त लगानीकर्ता सचेतना कार्यक्रममा उद्योग वाणिज्य संघ, दाङका अध्यक्ष नारायणप्रसाद भुसाल प्रमुख अतिथि, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, युनाइटेड फाइनान्स लिका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ र नेपाल स्टक एक्सचेन्ज लिका सहायक प्रबन्धक सुरेन्द्रराज वाग्ले र अधिकृत भेषराज खनाल अतिथिको रूपमा सहभागी भएका थिए।
त्यसैगरी बुटवलमा आयोजना गरिएको कार्यक्रममा मिडास स्टक ब्रोकिङ कप्रालि, दक्षिणकाली इन्भेस्टमेन्ट एण्ड सेक्यूरिटिज प्रालि, लिन्च स्टक मार्केट लि, एसियन सेक्युरिटिज प्रालि र आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिको समेत सह–आयोजना रहेको थियो । उक्त कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत तथा सीडीएससीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन भएको हो । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक सुरेन्द्रराज वाग्ले र अधिकृत भेषराज खनाल अतिथिको रूपमा सहभागी भएका थिए ।
उक्त कार्यक्रमहरूमा सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले धितोपत्र अभौतिकीकरण, सीडीएस एन्ड क्लियरिङ लिको कार्य तथा सो लिको पुँजी बजार विकासमा रहेको भूमिका, प्राथमिक सार्वजनिक निष्कासनमा सहजता प्रदान गर्न कार्यान्वयनमा ल्याइएको सी–आस्बासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेन्ज लिको तर्फबाट कार्यपत्र प्रस्तुत भेषराज खनालले गरेका थिए ।
उक्त कार्यक्रमहरूको मुख्य उद्देश्य नेपालको पुँजी बजारसँग आबद्ध लगानीकर्ताहरू तथा संभावित लगानीकर्ताहरूलाई सीडीएससि, नेप्सेलगायत अन्य सम्बन्धित पक्षहरूले प्रदान गर्ने सेवाहरू र सो बाट हुने लाभहरू, पुँजी बजारको आधुनिकीकरणमा उक्त पक्षहरूको अपरिहार्य भूमिका, धितोपत्र अभौतिकीकरणको फाइदा, लगानीकर्ताहरूको हितका लागि सिडिएससिले विकास गरेका नयाँ सफ्टवेयरहरू र यस संस्थाको सञ्चालनसँगै पूँजी बजारमा भएको थप विकाससम्बन्धी प्रकाश पारी सहभागीहरूलाई शिक्षित बनाउनु हो ।

प्रतिक्रिया दिनुहोस्