पार्टी दुर्घटनामा पर्दैन : प्रचण्ड «

पार्टी दुर्घटनामा पर्दैन : प्रचण्ड

भरतपुर-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दुर्घटनामा जान नदिन अन्तिम समयसम्म धैर्यतापूर्वक लागिपर्ने बताएका छन् । नेकपा माडी नगर कमिटिले माडी बसन्तपुरमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, “हतारमा एकता गरेर फुर्सदमा भोली पछुताउने अवस्था नआओस् भन्नेमा सतर्क छौँ ।” उनले कुनै पनि बहानामा कसैले पार्टी एकता कमजोर पार्न नहुने बताए ।
“सरकार, विकास र समाजवादको आधार निर्माण गर्ने जिम्मा जनताले हामीलाई दिएका छन्,” उनले भने, “असाधरण काम गरेरै एकता भएको हो, सजिलै कमजोर हुन दिने छुट कसैलाई छैन ।” उनले प्रधानमन्त्रीसँग पछिल्लो वार्तालाई इंगित गर्दै भने, “कुनै न समझदारी र सहमतिबाट अहिलेको क्राइसिस हल निकालिनेछ ।”
उनले हतारमा पार्टी एकता विरुद्धका नलाग्न आग्रह गरे । “हतार गरेर कुनै गतिविधि गर्न जरुरी छैन, पार्टी एकताको पक्षमा उभिनुस्,” प्रचण्डले भने, “त्यसलेनै तपाईको योगदान पार्टीमा हुनेछ ।”
उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने पहलकदमी कमजोर नहुने अडान राखे । “माडीमै आएर दुबै अध्यक्ष उभिएर बोल्यौँ, जनता र कार्यकर्तामा उत्साह भरोसा उत्पन्न आयो,” उनले भने, “जनताले हाम्रो संकल्पलाई विश्वास गरे, झण्डै दुईतिहाईको बहुमत दिए, अब दुर्घटनामा पार्ने काम हुँदैन ।”
उनले माडीमा एकिकृत विकासका परियोजना कार्यान्वयन गरिछाड्ने प्रतिवद्धता दोहो¥याए । “एक दुई वटा बाटा बनाएर मात्रै उम्कने छुट मलाई छैन,” उनले भने, “मेरो ध्यान पूर्वाधारमा केही दीर्घकालिन महत्वका काम हुन् भन्ने छ, जनताले भविष्यसम्म सम्झिरहनेछन् ।” उनले दीर्घकालिन महत्वका काम नभएमा जनताले आलोचना गर्न पाउने भएपनि आलोचना हुन नदिन प्रतिवद्ध भएर परियोजनाहरु कार्यान्वयन गर्ने बताए ।
उनले राष्ट्रिय निकुञ्जसँग सम्बन्धि ऐन संसोधनका लागि निकै संघर्ष गर्नुपरेको सुनाए । “२०२९ सालको ऐन संसोधन नभएसम्म पुरै समस्या हल हुदैन”, उनले भने, “अहिले ड्राफ्ट त बनेको छ, तर सोचेजस्तो भएको छैन, संघर्ष जारी छ ।” उनले परम्परागत कार्यप्रणाली, पुराना ऐनहरु निकै अप्ठ्यारा रहेकाले परिवर्तन आवश्यक रहेकोमा जोड दिए । सबै ठाडा खोलामा तटबन्धन, कृषि, शिक्षा, स्वास्थ्य सबैको एकिकृत विकासको परियोजनाका लागि लागिपर्ने बताए ।
उनले चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल बनिछाड्ने संकेत गरे । “अहिले १ करोड बजेट परेको छ, अध्ययन र डीपीआरको काम हुनेछ”, उनले भने, “त्यो भनेको काम अगाडी बढ्दैछ भन्ने संकेत हो ।” उनले रिउ करिडोर समेत आफ्नै कार्यकालमा पूरा गर्ने आश्वासन दिए । “केन्द्रीय मन्त्रालयबाट ३ वटा योजना र प्रदेशबाट समेत सायद केही बजेट छुट्टिएको पनि छ”, उनले भने, “बाढी र जंगली जनावरबाट सुरक्षित माडी बन्न करिडोर निर्माण हुनेछ ।” उनले माडीको रिंगरोड बनाउन काम अगाडी बढाइने बताए ।
उनले बाँदरझुला वस्तीलाई अन्य वस्तीसरहका सुविधा दिने गरी वा अन्यत्र व्यवस्थित बसोबास गर्ने गरी काम गर्न मन्त्रालयमा पहल गरिरहेको दाबी गरे । उनले गरिव तथा निमुखा जनताका लागि सरकारलेनै घर बनाउने काम गरिरहेको बताए । उनका अनुसार ६ सय घर जनताआवास कार्यक्रममार्फत बन्ने बताए ।
प्रचण्डले शनिबार रिउको बाढीमा परी मृत्यु र वेपत्ता भएकाको परिवारसँग भेटघाट गरेका छन् । वेपत्ता भएका माडी–५ धोवाहका रामसिंह मर्दनिया र मृत्यु भएका माडी–८ खरकट्टाका पूर्वसिंह तामाङको परिवार तथा आफन्तीलाई भेट गरे । “दुबै परिवारलाई राहत तत्काल उपलब्ध गराउनुस्”, उनले माडीका मेयरलाई इंगित गर्दै भने, “वेपत्ता व्यक्तिको छिटो खोजी गर्नुस्, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गर्नुस् ।”

 

प्रतिक्रिया दिनुहोस्