मिस नेपाल चैत २८ मा «

मिस नेपाल चैत २८ मा

 यस वर्षको मिस नेपालका लागि अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ । द हिडेन ट्रेजरले प्रत्येक वर्षझैं यस वर्ष पनि चार प्रतिभाशाली युवती चयन गरी मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स र मिस इन्टरनेशनल जस्ता प्रख्यात अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पठाउने जनाएको छ ।
मिस नेपाल २०१८ को अडिसमा उत्साहजनक सहभागिता रहेको पनि आयोजकले बताएका छन् । यस पटक वीरगन्जसहित विराटनगर, चितवन, बिर्तामोड, धरान, धनगढी, बुटवल, पोखरालगायत राजधानीबाहिरका आठ मुख्य सहरहरुमा अडिसन लिनेक्रम सकिएको छ । सबै स्थानको अडिसनपछि २४ जना छनोट गरिने हिडेन ट्रेजरले जनाएको छ । छनोटमा भएकाहरुलाई सात हप्तासम्म विभिन्न प्रशिक्षण दिई चैत २८ गते हुने प्रतियोगिताको फाइनलमा काठमाडौंमा संलग्न गराइनेछ ।
नेपालमा मिस नेपालको सुरुवात भएसँगै मिस राई, मिस लिम्बु, मिस तामाङलगायत धेरै सौन्दर्य प्रतियोगिताहरु सुरु भइसकेका छन् । जसले युवतिको आत्मविश्वास तथा समग्र व्यक्तित्वमा सकारात्मक प्रभाव पार्ने दाबी गरिएको छ । मिस नेपाल प्रतियोगिताले पनि साधारण युवतीहरुमा गहिरो प्रभाव पारेको आयोजकको दाबी छ । मिस नेपाल बनिसकेपछि आफूमा आत्मविश्वासका साथ अघि बढ्ने साथै फिल्मी क्षेत्रलगायतमा अवसरहरु प्राप्त हुने तथा चर्चित हुने भएकोले पनि युवतीहरु सबै मिस नेपालमा आकर्षण बढेको छ ।
जुलाई २९ सन् १९५१ मा संयुक्त अधिराज्य (बेलायत) बाट सुरु भएको विश्व सुन्दरी प्रतियोगिता नेपालमा आइपुग्न ४ दशकभन्दा बढी समय लागेको भए पनि नेपालमा सन् १९९४ सालबाट मिस नेपाल प्रतियोगिता लगातार आयोजना भइरहेको छ । त्यस हिसाबले यसको थालनी नेपालमा २४ वर्ष पुगिसकेको छ । यद्यपि मिस नेपालकै प्रभाव स्वरुप अहिलेसम्म आइपुग्दा विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिसँग जोडिएका सुन्दरी प्रतियोगिता मिस नेपालकै थालनीपछि भित्रिएको पाइन्छ । मिस नेपालको पहिलो उपाधि रुबी राणाले हात पारेकी थिइन् । त्यसपछि १९९५ मा सुुमी खड्का र १९९६ मा पुनम घिमिरेले मिस नेपालको ताज पहिरिएका थिए ।
त्यस्तै १९९७ मा मिस नेपाल र मिस वल्र्डको स्वरुपमा दुईपटक यो प्रतियोगिता भएको थियो । सो अन्तर्गत मिस नेपालको उपाधि निलिमा गुरुङले पहिरिन सफल भइन् । मिस नेपालको उपाधि जित्ने क्षेत्रगत हिसाबले हेर्दा हालसम्म राजधानी उपत्यका (काठमाडांै, ललितपुर, भक्तपुर) का सुन्दरीको बर्चस्व रहेको देखिन्छ ।
मिस नेपाल प्रतियोगितामा सहभागिहरुको उमेरको हद १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको, १० जोड दुई उत्तीर्ण, उचाइ कम्तीमा ५ फिट ४ इन्च हुनुपर्नेजस्ता न्यूनतम योग्यता रहेका छन् । साथै सहभागी नेपाली नागरिकता अनिवार्य हुनुपर्नेछ ।

सहभागिता उत्साहजनक छ
आकृति राजभण्डारी
म्यानेजर, द हिडन ट्रेजर

मिस नेपालको शुरुवात नेपालमा सन् १९९४ देखि भएको हो । हाम्रो नेपाली समाजमा मिस नेपालहरुलाई हेरिने दृष्टिकोण पहिले भन्दा परिवर्तन भएको छ जस्तो लाग्छ मलाई । पहिलेको समाजमा केटीहरुलाई हिँड्न नदिने, कार्यक्रम भएको ठाउँमा जानुहुन्न भन्ने सोच थियो तर अहिले प्रतिस्पर्धाको समय भएकोले पनि समाज परिवर्तन भएको छ । साथै यो मिस नेपाल इन्टरनेश्नल पेजेन्टमा पनि जान्छ, जस्तो मिस वल्र्ड, मिस यूनिभर्स, मिस अर्थ, मिस एसिया प्यासिफिक, मिस इन्टरनेशनलमा जानुहुन्छ । त्यसैले पनि पहिले भन्दा अहिले धेरै परिवर्तन भएको छ । यसलाई अगाडि बढाउन समाजको मिस नेपालप्रतिको नकारात्मक सोचलाई परिवर्तन गराउनु पर्छ ।
यसपालि लगभग ३५० जना सहभागी पुगिसकेका छन् । हामीले अनलाइन फारमको पनि व्यवस्था गरेका थियौं र अनलाइन अडिसनको पनि व्यवस्था गरेका थियौं । अनलाइन फारम भर्ने २०० भन्दा बढी हुनुहुन्थो । मिस नेपालको टे«निङ ६-७ हप्तासम्मको हुन्छ । यो हामीले सबै निःशुल्क गराउँछौं ।

प्रतिक्रिया दिनुहोस्