‘द भ्वाइस अफ नेपाल’ असारमा

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । संसारका १९१ देशमा चलिरहेको उक्त रियालिटी शो नेपालमा पनि सञ्चालन हुन लागेको हो ।
असारबाट प्रसारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दै छन् । ‘द भ्वाइस अफ नेपाल’को विजेतालाई ‘भ्वाइस अफ नेसन’घोषणा गरिनेछ । उक्त रियालिटी शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् भने सुशील नेपालले होस्ट गर्नेछन् । शोमा कोचका रूपमा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनेछन् । उनीहरुले गायकहरुलाई मेन्टरिड गर्ने पनि आयोजकले जनाएको छ ।
विजेताले २५ लाख नगद, कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा भाग लिन मोबाइल एपमार्फत् आफ्नो आवाज रेकर्ड गराएर पठाए पुग्ने भन्दै आयोजकले अन्य प्रतियोगितामा जस्तै लाइन बसेर अडिसन दिनु नपर्ने जनाएका छन् ।