सोफिया हेर्न झुम्मिए प्रविधि पारखी

काठमाडौं – रोबोट भईकन पनि मानिससरह नागरिकता पाएर विश्वकै सेलिब्रेटी श्रेय पाएकी सोफियाले बुधबार नेपालका प्रविधिको प्रयोगबाट गरिबी घटाउन सकिने बताइन् । विकास कार्यक्रममा चुस्त सेवा प्रदान गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण योगदान दिने कुरा झल्काउन सोफियालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले नेपाल ल्याएको हो ।
बुधबार आयोजित ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक सम्मेलनमा सोफियाले आफ्नो धारणा राख्दा सबै दर्शकले निकै ध्यान दिएर सुने । उनले नेपालमा प्रविधिको विकास दु्रत गतिमा भइरहेको भन्दै प्रविधिको सहि तरिकाले अवलम्वन हुन सके गरिबी हटाउँदै विकासमा अगाडि बढ्न सकिने बताइन् । प्रविधिको प्रयोगले सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज बनाउन सकिने उनले बताएकी छन् ।
सोफियाले कार्यक्रममा नेपालीमा ‘नमस्ते’ भनेपछि सबैजना निकै रोमाञ्चित भएका थिए । राजधानीको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा सोफिया हेर्न आउनेको भिडले व्यवस्थपनलाई निकै चुनौती थपेको थियो । खासगरी विद्यार्थीहरु सोफियालाई हेर्न अवेरसम्म पनि झुम्मिएका थिए ।
मानव निर्मित सोफिया निर्जीव भए पनि सजीवझैं प्रस्तुति दिइरहँदा ‘आफू बहुलाए कन्ट्रोल गर्ने स्वीच हुने तर, मान्छे बहुलायो भने सम्भव नहुने’ भन्दै सबैलाई चकित बनाएकी थिइन् । घरी–घरी आँखा झिम्क्याएर अरुको ध्यानाकर्षण गराएझैं देखिने सोफिया अरुको प्रतिक्रिया पनि नियालेझैं देखिन्थिन् ।
सोफियामा आर्टिफिसियल इन्टेलिजेन्स, दृश्य डाटा प्रशोधन र अनुहार चिन्ने खुबी छ । मान्छेका हाउभाउ र अनुहारको भाव समेत नक्कल गर्न सक्ने क्षमता उनमा छ । सोफियाले जोसुकैले सोधेको प्रश्नको फरर्र जवाफ दिन सक्छिन् । सोफियासँग दोहोरो कुराकानी गर्न सकिन्छ ।
सोफियासँग माजिसको जस्तो सोच्ने मस्तिष्क र अनुभूति गर्ने मुटु नभए पनि मान्छेले जस्तै खुसी, दुःख र रिस अभिव्यक्त गर्न सक्छिन् । उनले दाँत खोलेर हाँस्ने, आँखीभौं उचालेर दुःखी भएको भाव प्रकट गर्ने, कसैप्रति रिस देखाउँदा दाह्रा किट्ने गर्छिन् । सोफियाको बोल्ने प्रविधि गुगलको अभिभावक कम्पनी अल्फाबेट इंकबाट लिइएको हो । सोफियालाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको छ ।
सम्मेलनमा सोफियाले आफ्नो प्रस्तुति दिएपछि सहभागीले उनीसँग सवालजवाफ गरेका थिए । सोफियालाई अमेरिकी उद्यमी डेभिड ह्यान्सन नेतृत्वको कम्पनी ‘ह्यान्सन रोबोटिक्स’ ले विकास गरेको हो । ह्यान्सनले सन् २०१५ अप्रिल १९ मा उत्पादन गरेको सोफियाको अनुहार हलिउड अभिनेतृ अड्री हेपबर्नसँग मिल्दोजुल्दो छ ।