महानगरको करमा भारी वृद्धि «

महानगरको करमा भारी वृद्धि

चितवनको भरतपुर महानगरपालिकाले सर्वसाधारणले तिर्ने कर तथा सेवा दस्तुरमा भारी वृद्धि गरेको छ । ५ देखि २ हजार प्रतिशतले करको दर बढाएपछि स्थानीय, उद्योगी, व्यवसायीले विरोध थालेका छन् । सेवा शुल्क दस्तुर, एकीकृत सम्पत्ति कर, व्यवसाय कर, कवाडी, जीवजन्तु कर, विज्ञापन कर, मनोरन्जन करलगायतमा भारी वृद्धि गरिएको छ । महानगरले गत पुस २४ गतेको नगरसभाबाट आर्थिक ऐन पारित गरेर नयाँ करको दर निर्धारण गरेको हो ।
विगतमा १० रुपैयाँमा हुने निवेदन दस्तुरको सेवा शुल्क २५ रुपैयाँ, २५ रुपैयाँमा हुने नाता प्रमाणितको १ सय रुपैयाँ, अंग्रेजीमा गरिने सिफारिसको ४ सय ९० बाट ५ सय ७५ रुपैयाँ कायम भएको छ । यस्तै पारिवारिक विवरण, बसोबास विवरण, नाबालक सिफारिस, जन्ममिति प्रमाणित, व्यक्तिगत प्रमाणित, चारित्रिक प्रमाणित, खानेपानी जडान, नामसारी, ठाउँसारी जस्ता शीर्षकमा विगतमा १ सय ९० रुपैयाँ दस्तुर तिरेर हुँदै आएकोमा अबदेखि ५ सय ७५ रुपैयाँ लाग्ने भएको छ । यस्तै व्यवसाय करमा पनि भारी वृद्धि भएको छ ।
बढेको करको दरमा सर्वसाधारणदेखि उद्योगी-व्यवसायी सबैले विरोध गर्न थालेका छन् । उद्योग वाणिज्य संघ–चितवनले वस्तुगत संघबीच छलफल गरेर बढेको करको दायराबारे राय संकलन अभियान नै चलाएको छ । “उद्योगी, व्यवसायी धेरै मारमा परेका छौं”, संघका अध्यक्ष सहनलाल प्रधानले भने, “८ गतेसम्म सबै वस्तुगत संघको राय लिनेछौं, लगत्तै करको दर पुनर्विचार गर्न महानगरको ध्यानाकर्षण गराउनेछौं ।” उनले करको दर बढाउँदा संघसँग महानगरले राय मागेको स्मरण गर्दै भने, “विरोध गर्ने नैतिक आधार त छैन, पुरानो कार्यसमितिका साथीहरूकै रायका आधारमा महानगरले कर निर्धारण गरेको हो, त्यही पनि अव्यवहारिक दर तोकिएका केही व्यवसायलार्ई परेका समस्या निराकरण गर्न मौन बस्न सकिँदैन ।”
उनले पुरानो करको दरको तुलना गरेर गुनासो नआएको दाबी गरे । “करको दर बढ्नुपर्छ भन्ने नै हो, तर अव्यवहारिकरुपमा बढाउनु भएन”, उनले भने, “सानो लगानीमा खुलेका कयौं व्यवसाय निकै मारमा पर्ने स्थिति आएको छ ।” वार्षिक धेरै नै कारोबार गर्नेको हकमा लाग्ने व्यवसाय कर समयानुकूल भए पनि कयौं व्यवसाय भने ठूलो मारमा परेको उनले बताए । हार्डवेयर, कपडा पसल, कस्मेटिक पसल, छापाखानालगायत कयौं व्यवसायमा निर्धारण गरिएको करको दर अव्यवहारिक भएको दाबी उनले गरे ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष कमल शर्मा गौतमले ‘कर लगाएरै’ कर संकलन गर्न खाजेको आरोप लगाए । “प्यान, भ्याट पनि तिर्नुपर्ने, वडामा सिफारिस लिनुपर्ने, महानगरमा कर पनि तिर्नुपर्ने अवस्था बनेको छ”, उनले भने, “करको दर वैज्ञानिक भएन, मनलाग्दी बढाइएको छ, संशोधन हुनुपर्छ ।” उनले लगानीमैत्री वातावरण बिगार्न चर्को करको दर कायम गराइएको आरोप लगाए ।
महानगरभित्र झण्डै ३ हजार साना ठूला होटल छन् । सामान्य खाजा घरदेखि ठूला होटल लजसम्म ५ सयदेखि १२ हजार रुपैयाँसम्म कर लिँदै आएकोमा अबदेखि १ हजार ५ सयदेखि १ लाख २५ हजारसम्म वार्षिक कर लाग्ने भएको छ । यस्तै पार्टी प्यालेसको हकमा ७ हजारदेखि १० हजारसम्म कर लाग्ने भएको छ ।
नारायणगढमा व्यवसाय गर्दै आएका विनोद शर्मा न्यौपान करको दर एक्कासि बढाइनु उचित नभएको बताए । “कर बढाउनुपर्छ, तर, एक्कासी धेरै अनुपातमा बढाउनु राम्रो होइन”, उनले भने, “कर निर्धारणको मापदण्ड पारदर्शी हुनुपर्छ, चौतर्फी करको भार पार्ने काम गर्नुहुन्न ।” चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले महानगर हुँदैमा जथाभावी कर संकलन गर्न नहुने बताउँछन् । “कर सुहाउँदो हुनुपर्छ । कर तिरेपछि गर्व गर्न लायक होस्”, उनले भने, “कर संकलनबाट भएका विकासको अनूभूति जनताले गर्न पाउनुपर्छ, करको दर व्यवहारिक हुनुपर्छ ।” चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले महानगरको विकास गर्न करको भूमिका महत्वपूर्ण हुने बताए । “व्यवसायी उद्योगीले बढेको कर तिर्न आनाकानी गर्ने कुरा राम्रो हुँदैन”, उनले भने, “महानगरको विकास गर्नु सबैको दायित्व हो, सुहाउँदो कर तिर्नुपर्छ ।”

विकासलाई गति दिन कर वृद्धि : महानगर
भरतपुर महानगरपालिकाले आन्तरिक स्रोत बढाएर विकास निर्माणलाई गति दिन करको दर बढाइएको दाबी गरेको छ । सर्वपक्षीय छलफल र रायकै आधारमा कर निर्धारण भएको महानगरको जिकिर छ ।
भरतपुर महानगरपालिका राजस्व शाखाका प्रमुख जगन्नाथ अर्यालले आन्तरिक स्रोत बढाउनै करको दर बढाइएको बताए । “महानगरको क्षेत्राधिकार पनि बढेको छ, विकास निर्माणका धेरै काम गर्नुछ,” उनले भने, “बढेको कर व्यवहारिक नै छ ।” जनप्रतिनिधि आएसँगै करको दर बढाउन सहज भएको उनको भनाइ छ । “जनप्रतिनिधि नहुँदा कर बढाउन निकै सकस थियो,” उनले भने, “सामान्य संशोधन हुन्थे । तर, सोचेअनुसारको दर कायम हुन सकेको थिएन ।”
विगतमा निकै कम कर तिरेका उद्योगी, व्यवसायीबाट निकै लामो अन्तरालपछि बढेको कर तिर्नुपर्दा सुरुमा केही विरोध आउनु स्वाभाविक भएको उनी बताउँछन् । आर्थिक कारोबार बढी गर्ने उद्योग, व्यवसायलाई सोहीअनुसारको दर राखिएको उनको भनाइ छ । भरतपुर महानगरको गतवर्ष करिब २१ करोड आन्तरिक स्रोततर्फको आम्दानी भएकोमा चालु आर्थिक वर्षमा १६ करोड संकलन भइसकेको छ । ६४ करोड आन्तरिक स्रोतको आम्दानी पुराउने लक्ष्य महानगरले लिएको थियो । आर्थिक वर्षको मध्यतिर करको दर हेरफेर भएकाले सोचेअनुसार राजस्व संकलनमा भने चुनौती देखापरेको छ ।

विप्लव काफ्ले

 

प्रतिक्रिया दिनुहोस्