सुस्तायो एमाले–माओवादी एकता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया सुस्ताएको छ । करिब एक महिना सरकार निर्माण र विस्तारमा समय खर्च गरेका दुई पार्टीबीचको एकता योबीचमा सुस्ताएको हो ।
यस्तै एकीकृत पार्टीको संगठन र विधी तयार पार्न गठित कार्यदलका अधिकांश सदस्य मन्त्री बनेपछि छलफल सुस्ताएको बताइएको छ । सम्भवतः जेठ ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा दुई पार्टीबीचको एकता घोषणा हुने भनिएपनि छलफल सुस्तापछि एकता प्रक्रिया लम्बिन सक्ने बताइन्छ । “जेठ ९ गते एकता घोषणा गर्ने की भनेर छलफल थालिएको थियो र काम पनि भइरहेको थियो । तर सरकार निर्माण र विस्तारका कारणले अहिले भने छलफल सुस्त छ,” एक नेताले भने, “संगठन र विधीका बारेमा टुंगो लगाउन बनाइएका कार्यदलका साथीहरू मन्त्री बन्नुभएको छ । त्यही कारणले पनि छलफल अलि कम भएको हो ।”
फागुन सात गते एकता गर्न ७ बुँदे आधारपत्रमा हस्ताक्षर गरेका दुई पार्टीले एकताका प्रक्रिया अघि बढाउन संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको थिए ।
संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।
यो कार्यदलमा रहेका पोखरेल, विष्ट, थापा, गिरिराजमणी पोखरेल र यादव मन्त्री बनेका छन् । यो कार्यदललाई संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने जिम्मेवारी छ ।
यस्तै राजनीतिक प्रतिवेदन र सिद्धान्तबारे टुंगो लगाउन बनाइएको कार्यदलका प्रदीप ज्ञवाली मन्त्री बनेका छन् । यो कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।
कार्यदलका सदस्य मन्त्री बनेर मन्त्रालय सम्हालको केही दिनमात्रै भएकाले कार्यदलको काम अघि बढ्न नसकेको ती नेताले जानकारी दिए । यद्यपी उनले अब भने सरकार विस्तार भइसकेकाले कार्यदलले काम अघि बढाउने र एकता प्रक्रियाले गति पाउने सुनाए ।
एमाले र माओवादीबीच एकिकृत पार्टीको नेतृत्वको विषयमा भद्र सहमति भइसकेको बताइन्छ । जस अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै अध्यक्ष हुने र ओलीले सरकारको नेतृत्व गर्दा दाहालले पार्टी बैठकमा नेतृत्व गर्ने बताइएको छ । तर, संगठनात्मक संरचना र पार्टीको सैद्धान्तिक र बैचारिक नीति के हुने ? भन्ने बारेमा भने सहमति जुट्न सकेको छैन । यो विषयमा कार्यदल स्तरमा सहमति जुटाउने प्रयास भइरहेको छ । खास गरी एमालेले पार्टीको सिद्धान्त जनताको बहुदलिय जनवाद हुनुपर्ने बताइरहको छ । तर माओवादीले भने ‘जबज’, माओवाद र २१ औं शताव्दिको जनवादका राम्रा पक्षलाई मिलाएर नयाँ सिद्धान्त बनाउनुपर्ने बताइरहेको छ । यही विषयमा कार्यदलले छलफल गरिरहेको छ । एमाले उपाध्यक्ष भिम रावलले कार्यदलले काम गरिरहेको तर, ठोस निष्कर्ष भने निस्किनसकेको बताए । “कार्यदलहरूले काम गरिरहेका छन् । तर निष्कर्षमा पुगिएको छैन । छलफल मार्फत छिट्टै निष्कर्षमा पुग्छौं,” उनले भने । रावलले अब छलफललाई तिव्रता दिइने र सहमति जुटाएर एकता घोषणा गरिने बताए ।
एकता चाँडै टुंगिँदैछ : प्रचण्ड
हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीचको पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेका छन् । अबको एक महिनाभित्र एकताको विषयमा टुङ्गो लाग्ने बताउँदै प्रचण्डले दुई पार्टीको अध्यक्षबीच छलफल गरी पार्टी एकता घोषणाको मिति तय गरिने जानकारी दिए ।
दुई पार्टीबीच एकता प्रक्रिया सहजढंगले अगाडि बढिरहेको उनको भनाइ थियो । बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उनले भने, “पार्टी एकता टुङ्ग्याउन दुईवटा कार्यदलले काम गरिरहेका छन् । एक-दुईदिनमा कार्यदलको प्रतिवेदन प्राप्त हुनसाथ पार्टी एकता संयोजन समिति बसेर अन्तिम रुप दिनेछौं ।” कार्यदलले २२ अप्रिलमा पार्टी एकता गर्न सुझाव दिएको बताउँदै प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र आफूले औपचारिक छलफलपश्चात् एकता घोषणाको मिति टुंगो लगाउने बताए ।