गोरखाको स्वास्थ्य क्षेत्रका लागि ३९ करोड विनियोजन

गोरखा-सरकारले आर्थिक वर्ष २०७७-०७८ मा गोरखाको स्वास्थ्य क्षेत्रका लागि ३९ करोड दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आर्थिक वर्ष २०७७-०७८ का लागि जिल्लाका ११ स्थानीय तहका लागि ३९ करोड दुई लाख रुपैयाँ बजेट विनियोजन भएको हो । विनियोजन गरिएको बजेट अनुसार जिल्लामा अन्य स्थानीय तहले भन्दा पालुङटार नगरपालिकाले धेरै र अजिरकोट गाउँपालिकाले कम बजेट पाएको छ ।
पालुङटार नगरपालिकालाई ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको स्वास्थ्य मन्त्रालयले अजिरकोट गाउँपालिकालाई २ करोड ५८ लाख रुपैयाँ छुट्टाएको छ । आगामी वर्षका लागि गोरखा नगरपालिकालाई ४ करोड १४ लाख रुपैयाँ छुट्टाइएको छ । अन्य स्थानीय तहलाई प्रतिपालिका तीन करोड भन्दा धेरै बजेट विनियोजन भएको छ ।
आरुघाट गाउँपालिकालाई ३ करोड एक लाख रुपैयाँ, गण्डकी गाउँपालिकालाई ३ करोड ९० लाख रुपैयाँ र भिमसेन थापा गाउँपालिकालाई ३ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयको बार्षिक विकास कार्यक्रममा उल्लेख छ ।
मन्त्रालयका अनुसार शहिद लखन गाउँपालिकालाई ३ करोड ३९लाख रुपैयाँ, सिरानचोक गाउँपालिकालाई ३ करोड ८६ लाख रुपैयाँ र बारपाक सुलिकोट गाउँपालिकालाई ३ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले चुमनुब्री गाउँपालिकालाई ३ करोड २३ लाख रुपैयाँ र धार्चे गाउँपालिकालाई ३ करोड २९ लाख लाख रुपैयाँ बजेट छुट्टाएको छ ।