‘आइतबारदेखि कर्मचारी कार्यक्षेत्रमा नगए कारबाही’

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आइतबारदेखि तोकिएको ठाउँमा नजाने कार्मचारीहरूलाई निजामती ऐनअनुसार कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी दिएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले कर्मचारीले तोकिएको ठाउँमा जान अटेर गर्न नहुने बताए । “यदि तोकिएको ठाउँमा कर्मचारी नगएको भेटिए ऐनअनुसार कारबाही हुन्छ,” मन्त्री पण्डितले भने, “संघीयतालाई सफल बनाउने दायित्व राजनीतिक दल, सरकार र कर्मचारीहरू पनि हो ।”
उनले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखि कार्यक्षेत्रमा नर्फकने कर्मचारी कारबाहीमा पर्ने प्रस्ट्याए । संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाशमार्फत सक्षम जनशक्तिलाई विदा दिने पक्षमा सरकार नभएको उनको भनाइ थियो । पण्डितले खटिएका कर्मचारीलाई पहिलेकै कार्यालयमा हाजिर गराउने खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागिदार हुनुपर्ने चेतावनी दिए । “कार्यक्षेत्रमा खटिएका कर्मचारीको पुनः पुरानै ठाउँमा हाजिर गराएको पाइए कार्यालय प्रमुखसमेत कारबाहीको भागिदार हुनुपर्छ,” मन्त्री पण्डितले भने ।
अहिलेको सरकारको प्रमुख लक्ष्य आर्थिक सम्वृद्धि र विकास भएकाले त्यसका लागि राष्ट्रसेवक कर्मचारीको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।