७ महिनामै १४ अर्बको क्लिङ्कर आयात «

७ महिनामै १४ अर्बको क्लिङ्कर आयात

मुलक सिमेन्टमा आत्मनिर्भरोन्मुख भएको दावी गरिए पनि पछिल्लो सात महिनामा झन्डै १४ अर्ब रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको आर्थिक तथा वित्तीय स्थितिले नेपाल सिमेन्टमा आत्मनिर्भर हुन अझै समय लाग्ने देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालू वर्षको सात महिनामा ३ अर्ब रुपैयाँ बढीको सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष (२०७२-७३) को सोही अवधिमा ३ अर्ब रुपैयाँको मात्रै सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा गत वर्ष २२४.२ प्रतिशत आयात बढेर १० अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो । गत वर्षको तुलनामा चालू वर्षमा भने ३३.८ प्रतिशतले बृद्धि भइ १३ अर्ब ८७ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर आयात भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । क्लिङ्कर तथा सिमेन्टको आयातको अनुपातलाई हेर्दा सिमेन्टमा आत्मनिर्भर हुुन अझै समय लाग्ने देखिएको छ । सरकारले २०७४ साललाई ‘बेन्चमार्क’ राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले ठूला परियोजनाका लागि मात्रै सिमेन्ट आयात हुने गरेको र ति सिमेन्टहरूले ‘ड्युटी फ्री’ सुविधा पाउने भएकाले आयात हुने गरेको बताए । “निजी क्षेत्रबाट व्यापारका लागि सिमेन्ट आयात भएकै छैन, क्लिङ्करको आयात पनि निकै नै घटेको छ,” उनी भन्छन्, “अबको ६ महिनामा क्लिङ्कर आयात शून्य नै हुन्छ ।” सरकारले २०७४ सम्मको समय तोकेकोमा अवको २०-२२ दिनमा लक्ष्य पूरा गर्न भने नसकिने उनको भनाइ छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा सिमेन्ट र क्लिङ्कर आयात एकै शीर्षकमा भएकोले धेरै रकम देखिए पनि अहिलेको आयात परिमाणलाई स्वभाविक मान्नुपर्ने बताउँछन् । उनले अहिले पनि वार्षिक २० प्रतिशतको हाराहारीमा क्लिङ्कर आयात भभइरहेको उल्लेख गर्दै स्वदेशी बजार आत्मनिर्भर बन्न अझै समय लाग्ने बताए । “जबसम्म क्लिङ्करमा आत्मनिर्भर बन्न सकिन्न, तबसम्म सिमेन्टमा देश आत्मनिर्भर हुन सक्दैन,” उनी भन्छन, “नेपाल पूर्ण रूपमा सिमेन्टमा आत्मनिर्भर बन्न अझै डेढ वर्ष लाग्न सक्छ ।” नेपालमा वार्षिक झन्डै १ खर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । देशभित्रै उपलब्ध कच्चा पदार्थको उचित प्रयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँकोे सिमेन्ट तथा क्लिङ्कर बाहिरबाट आयात हुने गरेको छ । देशको विभिन्न ठाउँमा रहेका चुनढुंगा खानी प्रयोग गर्न नसक्दा ठूलो मात्रामा क्लिङ्कर आयात गर्नुपरेको हो ।

सरकारले नेपाली चुनढुंगाखानीलाई अधिकतम प्रयोग गरी क्लिङ्कर आयात शून्यमा झारी निर्यात गर्ने योजना बनाएको छ । त्यसका लागि उद्योग मन्त्रालयले सिमेन्ट उद्योगलाई चुनढुंगा खानीसम्म जाने सडक निर्माण तथा विजुली विस्तारमा सहयोग गर्दै आएको छ । पूर्वाधार विस्तार सरकारले गर्ने भनिए पनि काममा भएको ढिलाइका कारण उद्योग निर्माण भइसक्दासमेत पूर्वाधार नपुग्ने गरेको उद्योगीहरू बताउँछन् । योजना पूरा गर्न गत वर्ष उद्योग मन्त्रालयले देशमा १५ वटा उद्योगलाई खानी स्थलसम्म पहुँच मार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

७ महिनामा सिमेन्ट तथा क्लिङ्कर आयातको अवस्था
२०७०-७१    ४ अर्ब १३ करोड
२०७०-७१    ४ अर्ब १३ करोड
२०७१-७२    ४ अर्ब ९३ करोड
२०७२-७३   ३ अर्ब १९ करोड
२०७३-७४   १० अर्ब ३६ करोड
२०७४-७५   १३ अर्ब ८७ करोड
स्रोत– नेपाल राष्ट्र बैंक

प्रतिक्रिया दिनुहोस्