प्रदेशबाट गोरखालाई २५ करोड भन्दा बढि अनुदान «

प्रदेशबाट गोरखालाई २५ करोड भन्दा बढि अनुदान

गोरखा-गण्डकी प्रदेश सरकारले गोरखाका ११ स्थानीय तहका लागि २५ करोड भन्दा बढि अनुदान रकम छुट्टाएको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७-०७८ को बजेटमा गोरखाका ११ स्थानीय तहका लागि २५ करोड ६८ लाख ८५ हजार रुपैयाँ विनियोजन भएको हो ।
प्रदेश सरकारले स्थानीय तहलाई समानिकरण, सशर्त, समपुरक र विशेष अनुदानका रुपमा बजेट छुट्टाएको हो । जसअनुसार गोरखा नगरपालिकालाई समानिकरण अनदानका रुपमा १ करोड २८ लाख ४३ हजार रुपैयाँ विनियोजन भएको छ । सशर्त अनुदान अन्तरगत १० किलो शिखर डाँडा लुदिखोला सडकमार्गका र विन्धबासिनी डेरागाउँ सडक निर्माणका लागि ३०-३० लाख रुपैयाँ विनियोजन गरिएको हो ।
प्रदेश सरकारले समपुरक अनुदान अन्तरगत पाटेचौर रानीवन पन्थेश्वारा पिपलथोक भिमसेनपार्क गोरखा दरबार सडकका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यसैगरी, पालुङटार नगरपालिकालाई समानिकरण अनुदानका रुपमा १ करोड २६ लाख ५४ हजार रुपैयाँ, सशर्त अनुदान अन्तरगत लिगलिग रंगशाला निर्माण र विशेष अनुदान अन्र्तगत खाद्य गोदाम घर निर्माणका लागि ५०-५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । अजिरकोट गाउँपालिकाले प्रदेश सरकारबाट समानिकरण अनुदान अन्तरगत १ करोड २१ लाख ९० हजार रुपैयाँ, सशर्त अनुदान अन्तरगत गाउँपालिकाको प्रिफ्याब भवन र समपुरक अन्र्तगत अजिरकोट गाउँपालिका खेल मैदानका लागि ५०-५० लाख रुपैयाँ पाउने भएको छ ।
यस्तै, आरुघाट गाउँपालिकाले समानिकरणतर्फ १ करोड २२ लाख ३१ हजार रुपैयाँ पाउने भएको छ । आरुघाटलाई सशर्त अनुदान अन्तरगत फूलपातीडाँडा अलैचे कल्लेरी सिङला देउराली सडक र समपुरक अनुदान अन्तरगत सोती मान्वुबेसी धुन्चेत धोरत सडकका लागि ५०-५० लाख रुपैयाँ पनि विनियोजन भएको छ ।
गण्डकी गाउँपालिकाले समनिकरण अनुदान अन्तरगत १ करोड २१ लाख ५६ हजार रुपैयाँ र सशर्त अनुदान अन्तरगत कौडी कम्युनिटी भिलेज कंक्रिट पदमार्ग निर्माणका लागि ३० लाख रुपैयाँ पाउने भएको छ । विशेष अनुदान अन्तरगत तोमानडाँडा आधारभूत विद्यालय छात्राबास तथा भान्साघर निर्माणका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । गण्डकीलाई समपुरक अनुदान अन्र्तगत मकैसिंह लामागाउँ ऐनापहाड दलभन्याङ गाउँपालिका जाने सडक निर्माणका लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ ।
चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाले समानिकरण अनुदान अन्तरगत बराबर रकम पाएका छन् । दुवै पालिकालाई प्रतिपालिका एक करोड २२ लाख ८१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । चुमनुब्रीले सशर्त अनुदान अन्तरगत भालुवन रोल्पा डाँडा दुधपोखरी हुँदै घट्टेखोला पदमार्गका लागि १ करोड रुपैयाँ पाउने भएको छ । धार्चे गाउँपालिकालाई सशर्त अनुदान अन्तरगत वडा नं ४ मा तमु भवन निर्माणका लागि ३० लाख रुपैयाँ, समपुरक अनुदान अन्तरगत सभागृह निर्माणका लागि ३० लाख र वडा नं ४, ५, ६ र ७ को कार्यालय भवन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन भएको छ ।
भिमसेन थापा गाउँपालिकालाई समानिकरण अनुदान अन्र्तगत १ करोड २२ लाख २४ हजार रुपैयाँ, विशेष अनुदान अन्तरगत वडा नं ४ मा चिउरीफेद वालिङटार पम्पिङ खानेपानी आयोजनाका लागि ५० लाख रुपैयाँ, र समपुरक अनुदान अन्तरगत भिमसेन थापा स्मृति पार्क तथा संग्रहालय निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
शहिद लखन गाउँपालिका गाउँपालिकालाई समानिकरण अनुदानका लागि १ करोड २४ लाख ९ हजार रुपैयाँ, सशर्त अनुदान अन्र्तगत रामशाहघाट ढाडबारी मनकामना जुम्लीचौतारा तीनमाने घैरुङ सडक, प्रशासनिक भवन र पोखरी डाँडा काउले भन्गार रीपथोक सडक निर्माणका लागि ५०-५० लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । यस्तै, सिरानचोक गाउँपालिकालाई समानिकरण अनुदानका लागि १ करोड २१ लाख ७३ हजार रुपैयाँ बजेट छुट्टाइएको छ । समपुरक अनुदान अन्तरगत खहरे सिम्ले भंगेरी झारगाउँ पाटी भन्ज्याङ चिप्लेटी सडकका लागि १ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, प्रदेश सरकारले बारपाक सुलिकोट गाउँपालिकालाई समानिकरण अनुदानका लागि १ करोड २४ लाख ४३ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
समपुरक अनुदान अन्तरगत चनौटे ताकुमाझ लाकुरीबोट पाल्खु सडक निर्माणका लागि १ करोड र प्रशासनिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्