५ सय घरलाई खानेपानी «

५ सय घरलाई खानेपानी

मकवानपुरको बागमती गाउँपालिका–१ का पाँचसय घरधुरीले वर्षौंपछि खानेपानीको समस्याबाट मुक्ति पाउने भएका छन् । बागमती खोलाको तीरमा खनिएको कुवाको अस्वस्थकर पानी पिउन बाध्य स्थानीयले अब स्वच्छ पानी त पिउन पाउँछन् नै घरघरमै मिटर जडित धारोको सुविधासमेत पाउँदैछन् ।
‘एक घर एक धारो’ नीतिअनुसार बागमती गाउँपालिकामा ६ करोडको लागतमा डिपबोरिङ गरेर खानेपानी सेवा उपलब्ध गराउन लागिएको हो । सरकारको केन्द्रीय योजनाअन्तर्गत बामगती गाउँपालिका–१ माझगाउँमा डिपबोरिङ गरिसकिएको छ । एक लाख लिटर क्षमताको ट्यांकीसमेत निर्माण भइसकेको खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष भीमकुमार राईले जानकारी दिए । आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको खानेपानी आयोजनाको कामले तीव्रता पाइरहेको छ । पञ्चवर्षे योजनाअन्तर्गत सुरु भएको खानेपानी आयोजनाको ३० लाख रुपैयाँमा डिपबोरिङ गरिएको र २० लाखको लागतमा ट्यांकी निर्माण भएको समितिका अध्यक्ष राईले बताए ।
खानेपानी आयोजनाका लागि सम्पवेल निर्माण, ट्रान्समिटर खरिद, रिजर्भ ट्यांकी निर्माण र पाइप बिच्छ्याएर घरघरमा धारो जडानको काम बाँकी छ । सम्पवेल निर्माणका लागि आयोजनाले ३० लाख रुपैयाँ लागत अनुमान गरेको छ । ट्रान्समिटर जडानका लागि ६ लाख रुपैयाँ, ५० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी बनाउनका लागि १६ लाख रुपैयाँ बजेट निर्धारण गरिएको छ । मुहानदेखि ट्याङुकीसम्म पाइपलाइन बिच्छ्याउन १५ लाख र घरघरमा पाइप बिच्छ्याई धारा बनाउनका लागि ९० लाख रुपैयाँ छुट्याइएको छ ।
बोरिङ गर्ने र ट्यांकी बनाउने काम छुट्टाछुट्टै ठेक्कामार्फत समयमै काम सकिएको भन्दै खानेपानी समितिका अध्यक्ष राईले डिभिजन खानेपानी कार्यालयले अन्य कामको लागि पनि तत्काल ठेक्का आह्वान गरे तोकिएको ५ वर्षभन्दा अघि नै काम सकिने दाबी गरे । “यहाँका बासिन्दा जतिसक्दो चाँडो घरघरमा खानेपानी ल्याउन आतुुर छन्, उपभोक्ता समिति र स्थानीयको जोडबलमा पाएको बजेटको राम्रो सदुपयोग गरी काम गराएका छौं ।” अध्यक्ष राईले भने, “बजेट अपुग भए हामीले स्थानीयसँग पनि जनश्रमदानवापत केही रकम उठाउने योजना बनाएका छौं, घरघरमा खानेपानी ल्याउन सबैले पैसा हाल्न तयार देखिएका छन् ।”
उक्त आयोजना सम्पन्न भएपछि बागमती गाउँपालिका–१ नम्बर वडाका गुर्दुङ, रामपुर, करौंजे, बन्जरे, माझगाउँ र बाडेगाउँका करिब २५ सय जनाले प्रत्यक्ष खानेपानीको सुविधा पाउनेछन् । आयोजना निर्माण भएपछि घरघरमा मिटर जडान गरी शुल्कसमेत उठाएर दीर्घकालीन रूपमा खानेपानी सेवा प्रदान गरिने उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।
डिभिजन खानेपानी कार्यालय मकवानपुरले आयोजनाको अन्य कामको लागि चालू आवमै थप बजेट माग गरेको जनाएको छ । केन्द्रले बजेट पठाएमा यसैवर्ष अन्य कामका लागि ठेक्का आव्हान हुने कार्यालयका इन्जिनियर हरिराम पौडेलले जानकारी दिए ।
केशव समर्पण

प्रतिक्रिया दिनुहोस्