नेकपामा नयाँ आधारमा एकता गर्नुपर्छ : पौडेल «

नेकपामा नयाँ आधारमा एकता गर्नुपर्छ : पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
उनले पार्टीभित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरता भन्दा पनि साइड होमवर्कहरु गरी बैठकलाई टुंगो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, र वरिष्ठ नेताहरु पनि गृहकार्यमा रहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘दुवैतिरका विभिन्न पक्षका साथीहरु स्वयम दुवै अध्यक्षहरु, र अरु सिनियर साथीहरु पनि होमवर्कमा छन् ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नेकपालाई कुनैपनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘हाम्रो पुस्ताको खासगरी आफ्नो तहका साथीहरुबाट कुनैपनि हालतमा नेकपालाई फुट्न दिँदैनौं । यो प्रतिबद्धता म तपाईहरुलाई व्यक्त गर्न चाहन्छु । संविधानको प्रस्तावनामा लेखिएका पाँच वटा कुराहरु त्यो कार्यान्वयनको हितमा पनि छैन । र, संविधानको प्रस्तावनामा लेखिएको अन्तिम कुरा समाजवादउन्मुख राज्यप्रणाली ल्याइनेछ भनिएको छ । त्यो प्राप्ति गर्नको निम्ति पनि पार्टी टुटफुट र विभाजनले त्यहाँ लैजाँदैन ।’
उनले आफूहरुलाई फुट र विभाजन कुनैपनि हालतमा स्विकार्य नभएको बताउँदै पार्टी एकताका लागि देशैभरिका साथीहरुले खबरदारी गर्ने काम गरिरहेको पनि उनले जनाए । उनले थपे, ‘यसको लागि साथीहरुले केन्दीय कार्यालयमा गएर धर्ना बस्ने, अपिल गर्ने र अनुरोध गर्ने काम गरिरहनुभएको छ । म पनि दृढतापूर्वक त्यही मतको पक्षमा छु ।’
उनले अहिले पार्टीमा देखिएको समस्या मिलाउन सक्ने कुरा भनेको अब नयाँ आधारमा नयाँ एकता गर्नुपर्ने पनि आवश्कत्ता औंल्याए । उनले जारी स्थायी कमिटीको बैठकमा प्रकट भएका विषयहरुलाई बढि प्रोभोक गरेर तन्काएर भन्दा कार्यविभाजनमा सन्तुलित जिम्मेवारीहरुको बाँडफाँड गरेर जानुपर्नेमा जोड दिए ।सरकार गठन भएपछि पार्टी एकतामा देखा परेका समस्याका कारण पार्टीले नयाँ आधारमा नयाँ एकता खोजेको उनको तर्क छ । ‘अहिले विकसित भएका परिस्थितिहरूलाई सम्बोधन गर्नको निम्ति, कुटनीतिक प्रणालीलाई अझै सुदृढ र व्यवस्थित बनाउनको निम्ति, देशभक्ति भावनालाई अझै जगेर्ना गर्नको निम्ति नेकपा अझै मझबुद र नयाँ आधारमा अझ बढि चाहीँ एकीकृत हुन आवश्यक छ,’ उनले प्रष्ट्याए ।
नेता पौडेलले आफूहरु नयाँ आधारमा नयाँ एकता गर्ने दिशामा अघि बढिरहेको विश्वास दिलाए । उनले भने, ‘सबैको चाहना एकता नै हो । त्यसको पक्षमा हामीले लविङ्ग गरिरहेका छौं ।’
उनले पार्टीभित्र अहिले देखिएको समस्या हल गर्ने प्रमुख दायित्व र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको नै भएको पनि स्पष्ट पारे । उनले राजनीतिमा इमानदारिता हुनुपर्ने भन्दै त्यो सबैले प्रस्तुत गर्नुपर्ने तर्क गरे ।

 

प्रतिक्रिया दिनुहोस्