Logo

प्यूठानको अधिकांश क्षेत्रमा फैलियो सलह

मकै बालीमा क्षति

प्यूठान– जिल्लाका अधिकांश क्षेत्रमा प्रवेश गरेको सलहले बालीनालीमा क्षति पु-याएको छ । जिल्लाका विभिन्न स्थानमा मकैबालीमा सलहले क्षति पु-याएको किसानले बताएका छन् । आइतबार जिल्ला भित्र्याको सलहले जिल्लाका अधिकांश क्षेत्रमा फैलँदै बालिनाली नष्ट बनाएको हो । सलहले बढी मात्रामा मकैबालीमा क्षति गरेको छ ।
“गाउँभर फैलिएर सलहले मकैवाली नष्ट ग-यो” माण्डवी गाउँपालिका–५ रम्दीका स्थानीय शंकर आचार्यले भने, “धपाउन अनेक प्रयास गरे पनि सकिएन ।” मंगलबार र बुधबार दुई हुल सलहकीरा प्रवेश गरी मकैबाली नष्ट बनाएको उनले बताए । “गाउँले सबैले आगो बाल्ने, थाली ठोक्ने जस्ता अनेक प्रयत्न ग-यौं । तर, पनि बालि जोगाँउन सकिएन”, उनले भने ।
गाउँका अधिकांश बस्तीमा कीराले मकै बालीमा क्षति गरेको मल्लरानी गाउँपालिका–५ का प्रेमबहादुर बस्नेतले बताए । सलह आएको देख्ने बित्तिकै बारीमा निक्लिएर थाल ठटाउँदासमेत सलह भगाउन नसकिएको उनको भनाइ छ । “हेर्दा हेर्दै एकै छिनमा बाली सक्यो”, उनले भने, “जोगाउँन कुनै उपाए लागेन ।”
तीन दिनयता सलहले बालिनाली नष्ट गरेको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय जोगेन्द्र मल्लले बताए । “कीराले गाउँनै ढाकेको छ” उनले भने, “मकै, रोप्न तयार भएको कोदोको विऊँ सवै सखाप बनायो ।” उनका अनुसार गौमुखी गाउँपालिकाको अर्खा, रजवारा र पुँजामा सबैभन्दा धेरै बालीनालीमा क्षति पु-याएको छ ।
चार दिनअघि आइतबारदेखि जिल्लामा फाट्टफुट्ट देखिएको सलह पछिल्लो समय हुलका हुल प्रवेश गरिरहेको छ । यसअघि सामान्य क्षति गरे पनि पछिल्लो समय सलहले बालिनाली खाने गरेको स्थानीयले बताएका छन् । सलह जिल्लभर फैलिएपछि किसान बालीनाली जोगाउन खेतबारीमा प्रवेश गरेका छन् । उनीहरूले आगो बाल्ने, थाल ठटाउने, ठुला स्पिकर बजाउने, बाँजा बजाउनेलगायत उपाय अपनाइरहेका छन् ।
हुलका हुल आएको सलहले झिमरुक गाउँपालिका अन्तरगत अधिकांश क्षेत्रमा फैलिएको स्थानीय नारायण जी.सीले बताए । गाउँपालिका अन्तरगत वडा नम्बर–३ को बेओरे, चौर वडा नम्बर–१ को बालुवा, वडा नम्बर–५ को हिरापोखरीलगायत क्षेत्रमा सबैभन्दा धेरै क्षति पु-याएको उनले बताए । “सलह धपाउन स्थानीयले अनेकौं प्रयास गरेका छन्, तर पनि सम्भव भएन”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्