निगमलाई नाफामूलक संस्थाका रूपमा काम गर्न पर्यटनमन्त्री अधिकारीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगम नाफामूलक संस्था भएकोले सोहीअनुसार काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री अधिकारीले योजना, दक्षजनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त विमान सञ्चालन गरी निगमको गौरव प्रतिस्थापित गर्न आग्रहसमेत गरेका छन् ।
निगमको निरीक्षण गर्दै मन्त्री अधिकारीले निगमसँग आबद्ध प्रत्येक व्यक्तिले सामूहिक उत्तरदायित्वको अवधारणा लिई काम गरेमा निगम लक्ष्य प्राप्तिमा सफल हुनेसमेत बताए । उनले व्यापारिक संस्था भएको नाताले निगमले व्यावसायिक कुशलता अभिवृद्धि गर्नुका साथै सामाजिक सेवातर्फ पनि समानान्तर रूपमा अघि बढ्ने आग्रह गर्दै योजना बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र प्रतिफल प्राप्त गर्ने कुरामा संलग्न जनशक्ति उत्पादनमा समेत जोड दिनसमेत आग्रह गरेका छन् ।
अहिले विश्वव्यापी रूपमा नै पाइलटहरूको कमी अनुभव भइरहेको सन्दर्भमा आफ्नै देशमा अधिकतम पाइलट उत्पादन गर्ने र यो पेसा आकर्षक हो भन्ने धारणा विस्तार गर्नु सामयिक आवश्यकतामा जोड दिँदै मन्त्री अधिकारीले विमानहरूलाई नियमित उडानमा लगाउन व्यवस्थापन बढी सक्रिय हुन निर्देशनसमेत दिएका छन् ।
उक्त अवसरमा निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारले निगमसँग पर्याप्त विमान नहँुदा बजार अंशमा तीव्र वृद्धि गर्न नसकेको बताउँदै अहिले अन्तर्राष्ट्रिय अन्य विमान कम्पनीहरूले ९० प्रतिशत बजार अंश ओगटेकोमा १० प्रतिशतमा चित्त बुझाउनु परेको जानकारी दिए ।
उनले मलेसियन एयरलाइन्सले आफ्ना ९ वटा गन्तव्यको ग्राउन्ड ह्यान्डलिङको आकस्मिक निरीक्षण गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निगमले प्रदान गरेको ग्राउन्ड ह्यान्डलिङ सेवा उत्कृष्ट रहेको जनाउँदै त्यसका लागि नेपाल वायुसेवा निगमले प्रशंशापत्रसमेत पाएको जानकारी दिए ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगममा सरकारले पुँजीवृद्धि गर्न २० अर्व रुपैयाँ लगानी गर्न माग गर्दै नेपाल वायुसेवा निगम नेपाल सरकारकै संस्था भएकाले यसमा अपनत्व देखाउन माग गरेका थिए ।