प्रदेश राजमार्ग निर्माणका लागि अध्ययन «

प्रदेश राजमार्ग निर्माणका लागि अध्ययन

प्रदेश नम्बर ४ का सांसद किरण गुरुङसहितको टोलीले तनहुँको भिमाददेखि–त्रिवेणीसम्मको सडकको अवलोकन गरेको छ । प्रदेश राजमार्ग निर्माणका लागि टोलीले तनहुँको भिमाद, नवलपुरको डेढगाउँ बोझापोखरी हुँदै कावासोती त्रिवेणी सडक खण्डको अवलोकन गरेको हो ।
प्रदेश ४ विकासका लागि चीनकोे कोरला हुँदै भारतको भैसालोटन जोड्ने यस सडक खण्डअन्तर्गतको पोखरादेखि नवलपुरको त्रिवेणीसम्मको सडक सांसदको टोलीले निर्माणका लागि योजना बनाउन अवलोकन गरेको सांसद किरण गुरुङले बताए । प्रदेश सरकारले चैतको अन्त्यसम्ममा पूरक बजेट ल्याउने तयारी गरेको अवस्थामा सांसद टोलीको भ्रमण भएको हो ।
सडक निर्माणमा प्राविधिक सामाजिक अवस्थाका बारेमा अध्ययन गर्न अवलोकन भ्रमण गरेको सांसद गुरुङले बताए । पोखरादेखि त्रिवेणीसम्मको सडकमध्ये ट्रयाक खोल्न बाँकी रहेको दुम्किवास—त्रिवेणी क्षेत्रको २१ किमि तत्काल निर्माण थाले यो प्रादेशिक सडक हुने प्रदेश सांसद जनकलाल श्रेष्ठले बताए । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भन्दै काममा अवरोध गर्दा सडकको ट्रयाक खुल्न नपाएको स्थानीय घनश्याम गिरिले गुनासो गरे ।
संघको वन मन्त्रालय र प्रदेश सरकारले यस विषयमा टुंगो लगाएर कामलाई अगाडि बढाउन सांसदको टोलीसँग स्थानीयले माग गरेका हुन् । सडक निर्माणको कामलाई नै तीव्रता दिन भ्रमण गरिएको सांसद किरण गुरुङले बताए । झण्डै १६६ किमिको त्रिवेणी पोखरासम्मको यस सडक खण्डमा भिमाददेखि कोखेटार हुँदै गड्गडी घाटसम्मको २७ किमि र कोखेटारबाट कावासोतीसम्मको ३८ किमि ट्रयाक खुलेको छ भने नवलपुरको दुम्किवासदेखि त्रिवेणीसम्मको २१ किमिको ट्रयाक खोल्न स्थानीयको जोड छ । कालिगण्डकीको गड्गडीघाटमा अहिले पुल बनिरहेको छ । यसले तनहुँको रिसिंग र नवलपुरको बुलिङटार जोड्छ ।
अर्को ट्रयाक तनहुँको भिमाददेखि डेढगाउँ हुँदै कोखेटार बोझापोखरी हुँदै कावासोती आउने सडकको पनि ट्रयाक खुलेको छ । यहाँको कालिगण्डकी नदीमा पक्की पुल निर्माण सम्पन्न भएकाले आवातजावतमा सहजता भएको छ । कावासोतीको फलफूल चोकदेखि २० किमि बोझा पोखरीसम्म र यहाँबाट कोखेटार हुँदै गड्गडीसम्मको २० किमि सडक निर्माण हुँदैछ ।
कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्