प्यूठानमा भित्रियो सलह

प्यूठान-जिल्लामा सलह कीरा भित्रिएको छ । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिकाबाट सलहकीरा जिल्ला प्रवेश गरेको हो । सोमबार बेलुकी मल्लरानी गाउँपालिका–२ चुजाँवाट ठूलो संख्यामा सलह जिल्ला प्रवेश गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले बताए ।
“पूर्वी प्यूठानको सीमा क्षेत्र अर्घाखाँची हुँदै सलह जिल्ला प्रवेश गरेको छ,” निमित्त प्रमुख खनालले भने, “तीनवटा झुण्डहरू फरक–फरक समयमा आएका छन् ।” आइतवार दक्षिणी प्यूठानको वांगेशाल क्षेत्रमा पहिलोपटक फाट्टफुट्ट रूपमा सलह कीरा प्रवेश गरेको थियो । तर, सोमबार बेलुका भित्रिएको कीरा अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएको छ । जिल्लाका अधिकांश नगर तथा गाउँपालिका क्षेत्रमा सलह फैलिएको हो ।
मल्लरानी, गौमुखी, झिमरुक,ऐरावती गाउँपालिकाका केही क्षेत्रहरूमा ठूलो संख्यामा सलह फैलिएको छ । झन्डै ८-१० हजारको संख्यामा सलह गाउँप्रवेश गरेको गौमुखी गाउँपालिका–३, रजवाराका स्थानीय लालबहादुर सेनले बताए ।
सहल प्रवेशसँगै कृषकहरू बालिनाली नष्ट हुने चिन्तामा छन् । जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोटलगायत ठाउँमा सलह देखिएपछि किसानले धपाउनका लागि विभिन्न प्रयासहरू गरेका छन् । किसानले बाँजागाजा बजाउने, आगो बाल्ने, थाल ठटाउनेलगायतका उपाय अपनाएर सलह लखेट्ने काम गरेको झिमरुक गाउँपालिका–२, वादीकोटका स्थानीय विमलप्रसाद पोख्रेलले बताए । जिल्लका अन्य स्थानहरूमा समेत न्यून संख्यामा सलह देखिएको बताइएको छ ।
प्रज्वल पहाडी