झापामा मिर्गौला रोगी बढे «

झापामा मिर्गौला रोगी बढे

उपचारै नहुने ‘महँगो रोग’ भनेर चिनिने मिर्गौला रोगले सताइएका बिरामीको संख्या झापामा बढेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाबाट उपचार सहयोगको सिफारिस गरिएका मिर्गौला रोगले सताइएका बिरामीको तथ्यांक हेर्दा यस्तो पाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार आर्थिक वर्ष ०७०-७१ मा मिर्गौला रोगको उपचार सहयोगका लागि ५२ जनालाई सिफारिस दिइएको थियोे । यसैगरी ०७१-०७२ मा ६५ जना, २०७२ र २०७३ मा ७२ जनाले राज्यबाट उपचार सहयोगका लागि सिफारिस पाएका छन् ।
यस्तै, २०७३ असारदेखि २०७४ फागुन १४ गतेसम्म ४९ जना महिला र ८९ जना पुरुषलाई सिफारिस दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाकी नायव सुब्बा तारा सुवेदीले जानकारी दिइन् । मिर्गौला, मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरीजस्ता रोग लागेका बिरामीको उपचारका लागि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसको आधारमा उपचारमा एक लाख रुपैयाँसम्म अनुदान सहयोग दिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाकी नायव सुब्बा तारा सुवेदीले जानकारी दिइन् । सोही अनुदान पाउनका लागि मिर्गौला खराब भएका बिरामीले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लैजाने भएका कारण तथ्यांक तयार हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयकी सुवेदीले जानकारी दिइन् ।
मिर्गौला रोगीहरूको वास्तविक संख्या सिफारिस लैजानेभन्दा ज्यादा हुनसक्ने जनस्वास्थ्य कार्यालय भद्रपुरका प्रमुख मधुसूदन कोइराला बताउँछन् । प्रत्येक साता ३-४ जना मिर्गौला रोगीलाई उपचारका लागि सिफारिस गरिएको उनले बताए । मिर्गौला खराब भएमा बिरामीले नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अर्को व्यक्तिले मिर्गौला प्रदान गरेमा र नेपालमै प्रत्यारोपण गराउँदा ४ लाख रुपैयाँ खर्च हुने गरेको र यस्तो अवस्थामा सरकारले दुई लाख रुपैयाँ सहयोग गर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख कोइरालाले बताए । डायलासिसका लागि सरकारले दुई वर्षबाट बढाएर प्रत्यारोपण नहुन्जेलसम्मलाई सम्बन्धित अस्पतालमा सहुलियत गरिदिएको कोइरालाको भनाइ छ ।

झापाको मेची अञ्चल अस्पताल, ओमसाई पाथीभरा अस्पताल भद्रपुर र विर्र्तािसटी अस्पताल बिर्तामोडमा मिर्गौलाको डायलासिस गर्ने सुविधा भएको र उक्त अस्पतालमा लागेको सम्पूर्ण खर्च सरकारले अस्पताललाई भुक्तानी गरिदिने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले जानकारी दिए ।
तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्