मनीचेन्जरले विदेशी पर्यटकलाई पीओएसबाट मुद्रा साटिदिने

मनीचेन्जरहरूले विदेशी पर्यकलाई प्वाइन्ट अफ सेल (पीओएस–पोस)मार्फत विदेशी मुद्रा साटिदिने भएका छन् । नेपाल राष्ट्र बैकले मंगलबार सूचना जारी गर्दै विदेशी पर्यटकलाई पोसमार्फत विदेशी मुद्रा सटही गरीदिन मनी चेञ्जरहरूलाई भनेको हो ।
मनी चेञ्जरले पोसमार्फत विदेशी मुद्रामा भुक्तानी दिँदा नेपालका बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कार्डबाट नेपाली रुपैयाँ भुक्तानी हुँदा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट जारी निर्देशनको अनिवार्य पालना हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
मनीचेन्जरले पोसमार्फत सहटी गर्दा विदेशी नागरिकको हकमा राहदानीको प्रतिलिपि, भारतीय नागरिकको हकमा आधार कार्ड÷मतदाता परिचयपत्र वा राहदानीकै प्रतिलिपि लिएर गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी कार्डको सन्दर्भमा कार्ड एकाउन्ट नम्बरको पहिलो ४ अंक र ४ अंकको ‘बैक आइडेन्टिफिकेसन नम्बर’ रुजु गरेर मात्र नेपाली मुद्रा भुक्तानी दिनुपर्नेछ ।
मनीचेन्जरले अन्तर्राष्ट्रिय कार्ड (भिसा इन्टरनेसनल, मास्टर कार्ड इन्टरनेसनल, युनियन पे इन्टरनेसनल आदि) मार्फत मात्र भुक्तानी दिनसक्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । कारोबार रकमको सीमा र सेवाशुल्क विषयमा भने पोस सेवा प्रदायक बैंक तथा वित्तीय संस्था र सम्बन्धित मनिचेन्जर कम्पनीबीचको सम्झौताबमोजिम हुने केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय संस्थाले कारोबारवापतको रकम मनीचेन्जरलाई भुक्तानी गर्दा भने नेपाली रुपैयाँमा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । मनीचेन्जरले कारोबार सम्पन्न भएपछि राष्ट्र बैंकको निर्देशन बमोजिम विदेशी मुद्रा सटही रसिद जारी गर्नुपर्छ । मनीचेन्जरले बैंक र वित्तीय संस्थाबाट प्राप्त ‘ईएमभी पोस टर्मिनल’बाट मात्र कारोबार गर्नुपर्नेछ । त्यस्तो पोस टर्मिनलबाट ‘फल ब्याक’ कारोबार गर्न भने नपाइने राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्रा सटही गर्ने अनुमती लिएका मनीचेन्जरले पोसमार्फत कारोबार गर्न अघिल्लो आर्थिक वर्षमा कम्तिमा १२ लाख अमेरिकी डलरसम्मको कारोबार गरेको हुनुपर्ने व्यवस्था गरेको छ । साथै आवश्यक भौतिक पूर्वाधार पूरा गरेको तथा केन्द्रीय बैंक मनीचेन्जर विनियमावली २०६७ बमोजिम कारबाहीमा परेको भए कम्तिमा कारबाही भुक्तान भएको ३ वर्ष पूरा गरेकाले मात्र यो सेवा प्रदान गर्न सक्नेछन् ।