रुकुमको चौरजहारी नगरपालिकाले ल्यायो पीसीआर मेसिन «

रुकुमको चौरजहारी नगरपालिकाले ल्यायो पीसीआर मेसिन

रुकुम-कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद गरी ल्याएको छ । छिमेकी देश भारत र अन्य तेस्रो मुलुकबाट जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा बसेका नागरिकहरूको स्वाब संकलन गरी जाँच गर्नका लागि पीसीआर मेसिन खरिद गरिएको नगरपालिकाले बताएको छ ।
क्वारेन्टाइनमा बसेका स्थानीयहरूको स्वाब संकलन गरी प्रदेश राजधानी सुर्खेत र दाङलगायतका जिल्लामा पठाउनुपर्ने र स्वाब पठाएको हप्तौंसम्म पनि रिपोर्ट आउन ढिला हुने गरेको कारण पालिकाले मेसिन खरिद गरेर ल्याएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएको टोलीले मेसिन जडानको काम गरिरहेको र छिट्टै परीक्षणको काम हुने चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले वताए । उनका अनुसार उक्त मेसिन १ करोड २३ लाखको लगानीमा ल्याइएको हो । मेसिन जडान गरी सञ्चालनमा आएपछि रुकुम, सल्यान, जाजरकोट र डोल्पा जिल्लाबाट संकलन भएको स्वाब परीक्षण गरेर छिटो छरितो रिपोर्ट आउनेछ । जिल्ला आयुर्वेदिक अस्पतालको भवनमा जडान गर्न लागिएको उक्त मेसिनबाट दैनिक ९६ जनाको स्वाब परीक्षण गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्