नबिल फाउन्डेसन तथा तिलगंगा आँखा प्रतिष्ठानका बीचमा समझदारी

आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचारसमेत पाउनबाट बञ्चित दृष्टिविहीनहरूको हितलाई मध्यनजर गर्दै नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा मंगलबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रअनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिस गरिएका त्यस्ता व्यक्तिहरूमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउन्डेसनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत आर्थिक सहयोग उपलब्ध गराउने भन्दै बैंकले यस कार्यक्रमलाई ‘नबिल फाउन्डेसनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि’ भनी सम्बोधन गरिएको जनाएको छ । तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, काठमाडौंमा आयोजित एक समारोहकाबीच नबिल फाउन्डेसनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवालले र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा. रीता गुरुङले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।
उक्त समारोहमा नबिल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दुवै संस्थाका अन्य पदाधिकारीहरू समेतको सहभागिता थियो । सो कार्यक्रममा नबिल फाउन्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउन्डेसनले केही सहयोग गर्न सकेकोमा सन्तुष्टि व्यक्त गर्दै तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभूति भएको समेत उनले बताए ।