सन्दर्भ मूल्यका विपक्षमा व्यवसायी

सन्दर्भ मूल्यका विपक्षमा व्यवसायी
कारोबार संवाददाता
काठमाडौं, ६ चैत
नेपाल चेम्बर अफ कमर्सले भन्सार मूल्यांकनमा सन्दर्भ मूल्य लागू नगर्न अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष माग गरेको छ । कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. खतिवडासँग आफूहरू मारमा परेको भन्दै सन्दर्भ मूल्य लागू नगर्न माग गरेको हो । अध्यक्ष श्रेष्ठले कारोबार मूल्यको आधारमा भन्सारमा भन्सार जाँंचपास हुनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष श्रेष्ठले बैंकको चर्काे ब्याजदर घटाउनेतिर पनि सरकार लाग्नुपर्ने खाँंचो रहेको भन्दै ६ देखि ७ प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १३ देखि १४ प्रतिशतको उकालो लागेको बताएका छन् । यसले व्यापारीलाई समस्यामा पारेको बताए । साथसाथै उनले बजार अनुगमनको क्रममा व्यापारीको कुरै नसुनी पहिला थुन्ने गरेको भन्दै यसतर्फ सरकारको विशेष ध्यान जानुपर्ने बताए । पहिला सुन्ने अनि मात्रै अरू कारबाही हुनुपर्ने उनको भनाइ थियो ।
जवाफमा अर्थमन्त्री डा. खतिवडाले व्यापारीले राखेका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र संयुक्त रूपमा मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले मालसामान कारोबारमा विलबिजकको आधारमा बिक्री गरी सरकारलाई राजस्व परिचालनमा सहयोग प्रदान गर्न आह्वान गरेका छन् । भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त डा. खतिवडाको छ । जुनसुकै समस्या बजार अनुगमनका क्रममा फरक–फरक निकायहरूले अनुगमन गर्दा समस्या उत्पन्न हुने गरेको भन्दै अब अख्तियारी प्राप्त निकायले मात्रै एकद्वार प्रणालीअन्तर्गत बजार अनुगमन हुने व्यवस्था मिलाउने जानकारी दिएका छन् । बैंकमा अहिले देखिएको तरलता समस्याको दीर्घकालीन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको अर्थमन्त्री डा. खतिवडाले बताए । यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिने उनको भनाइ थियो ।