सुनको मूल्य एक लाख नजिक «

सुनको मूल्य एक लाख नजिक

बिहेको सिजन सकिँदै गर्दा स्थानीय बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् । विश्वभर फैलिएको कोरानाभाइरस (कोभिड–१९)ले गर्दा सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न गएको हो । पछिल्लो समय सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । लकडाउनअघि प्रतितोला ७७ हजार रुपैया रहेको सुनको मूल्य आइतबार बढेर तोलामा ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको कारणले गर्दा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले कोरोनाभाइरसको कारणले सुनको मूल्य बढ्न गएको बताए । “पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ,” उनले भने, “सुनको मूल्य बढेर एक लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।”
लगनको सिजनमा लगातार बढेको सुनको मूल्यले उपभोक्तालाई भने प्रत्यक्ष मार परेको छ । बिहेको सिजनमा सुनको मूल्य ९१ हजार नाघेसँगै बजारमा कारोबार न्यून रहेको छ । सुनको भाउ तोलामै ९१ हजार ३ सय रुपैयाँ पुगेपछि उपभोक्ताले कम सुनमै बिहेलगायतका काम पूरा गर्ने गरेका छन् । सरकारले सुनमा गरेको भन्सार वृद्धि र अन्तर्राष्ट्रिय बजारमा सेयर मूल्यसमेत घट्दै गएकाले सुनमा लगानी बढ्दै गएको छ र सोही कारणले सुनको भाउ महँगिएको व्यवसायीको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रति दशग्राम सुनमा २ हजार रुपैयाँ भन्सार बढाएको थियो ।
कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दै गएकाले पनि मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । आइतबार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । तोलामा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जानकारी दिएको छ ।
शुक्रबार सुनको भाउ तोलामा ९० हजार ६ सय रुपैयाँ थियो । असार १ गतेदेखि सुन पसल खुला भए पनि कारोबार भने उल्लेख्य परिमाणमा हुन नसकेको व्यवसायीको भनाई छ । गत वर्ष असार महिनामा दैनिक ३० देखि ४० किलो सुनको खपत हुने गरेकोमा अहिले मुश्किलले दैनिक ५ देखि १० किलो खपत हुने गरेको व्यवसायीको भनाइ छ । ग्राहकको क्रयशक्तिभन्दा पनि सुनको मूल्य उच्च भएपछि बजारमा सुनको कारोबार नै ठप्प भएको छ ।
सामान्य अवस्थामा मासिक ५ अर्ब रुपैयाँ बराबरको सुनचाँदी व्यवसायीको कारोबार हुने गरेको थियो । कोरोना भाइरसको कारणले गर्दा सुनचाँदी व्यवसायमा झन्डै १५ अर्बको नोक्सान भएको शाक्यले बताए । यसबाट सरकारलाई ६० करोड रुपैयाँ बराबरको राजस्व समेत गुमेको छ । कोरोना भाइरसको प्रभावले सुनचाँदीको कारोबार लामो समयसम्म ठूलो परिमाणमा नहुने भएकाले व्यवसाय सञ्चालन गर्न धेरै नै कठिन हुने व्यवसायीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्