नेपाली भूमि कब्जा गर्ने भारतीय रणनीति «

नेपाली भूमि कब्जा गर्ने भारतीय रणनीति

पाँचथर भारतको सिमाना जोडिएको क्षेत्रमा नेपालतर्फको भूभागमा नेपालले पूर्वाधार निर्माण गर्दा जहिले पनि भारतीय पक्षको अवरोध हुने गरेको छ । केही समय अगाडि पूर्वी पाँचथर र भारतका पश्चिम बंगालको सीमामा पनि सीमा विवाद सुरु भएको छ । नेपाली भूमिमा नेपाली पक्षले भवन निर्माणको काम सुरु गरेपछि सो भवनको निर्माण कार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पछि सीमा विवाद देखिएको हो । पाँचथरको उत्तरी फालेलुङ गाउँपालिका–६ मा पर्ने आहाल भन्ने ठाउँमा संग्रहालय भवन निर्माण कार्य सुरु गर्दा एसएसबीले रोकेको हो ।
सो भवन निर्माणमा भारतीय पक्षले अवरोध गरेपछि स्थलगत अनुगमन गर्ने गरी बनाइएको टोलीले अध्ययन गरी गृह मन्त्रालयमा पेससमेत गरेको छ । सो प्रतिवेदनमा नेपालतर्फ रहेको पर्यटकीय क्षेत्र र पूर्वाधार भारतमा गाभ्ने नियतले भारतीय पक्षले क्रियाकलाप गर्दै आएको निष्कर्ष निकालिएको छ । सोही बेहोराको प्रतिवेदन अध्ययन टोलीले गृह मन्त्राललाई बुझाएको हो ।
नेपालतर्फ बसोबास गर्ने स्थानीय नेपालीहरूलाई प्रलोभनमा पार्ने र सो भूमिलाई भारततर्फ पार्ने क्रियाकलापमा भारतीय पक्ष लागि परेको कुरा प्रतिवेदनमा उल्लेख छ । पटक–पटक स्थानीयवासीहरूलाई भारतीय सीमा सुरक्षाबलले मानसिक दबाब दिने गरेको कुरा उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आहाल क्षेत्रको स्थलगत अध्ययन गरेको टोलीलले नेपालतर्फको पर्यटकीय भूमि भारतर्फ बनाउन खोजेको निष्कर्ष निकालेको हो । नेपालतर्फको भूभागमा निर्माण गर्न खोजिएको भवनलाई भारतीय सीमा सुरक्षा बलले माथिको आदेश भन्दै रोकेको टोलीको प्रतिवेदनमा उल्लेख छ ।
फालेलुङ गाउँपालिकाले समस्या समाधानका लागि लिखितपत्र दिएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले स्थलगत अनुगमनका लागि टोली बनाएको थियो । साहयक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेको संयोकत्वमा बनाइएको टोलीमा नापी अधिकृत जयराम तामाङ, साहयक वन अधिकृत राजकुमार खत्री, मालपोत कार्यालयका प्रमुख बाबुराम पोखरल, नेपाल प्रहरीका निरीक्षक डम्बर बिस र सशस्त्र प्रहरी निरीक्षक एनीकुमार तामाङ सदस्य थिए । स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि नापीको विशेषज्ञ टोली आउने तयारी भएको साहयक प्रजिअ न्यौपानेले जानकारी दिए ।
भारतको सीमा पूर्वभारत सरकारले संरक्षित क्षेत्र बनाएको सिंहलिला नेसनलपार्क रहेको कारण कुनै सार्वजनिक निर्माण कार्य गर्न प्रतिबन्ध लगाएकाले र उक्त पर्यटकीय केन्द्रलाई (आहाल) आफ्नो पक्षमा पार्ने महत्वकांक्षा अनुरूप भारतीय सुरक्षाबलले सहायक पिलर निर्माण गरी सिमानालाई विवाद गर्न खोजेको कुरा प्रतिवेदनमा भनिएको छ ।
सो क्षेत्रमा सूर्यदयदेखि सूर्य अस्ताएको सम्मको दृश्य हेर्नका लागि पर्यटकहरू जाने गरेका छन् । भारतीय सीमाबलले बेला–बेला आफूखुसी पिल्लर स्थापना गरेर नेपाली भूमि कब्जा गर्ने गरेको समेत स्थानीयहरू बताउँछन् ।
पाँचथरबाट करिब ४५ किलोमिटर सीमाक्षेत्र भारतसँग सीमा जोडिएको छ । सन्दकपुरबाट तिम्बुपोरीसम्म भारतका सिक्कीम र पश्चिम बंगालसँग नेपालको सीमाक्षेत्र छ । सदरमुकाम फिदिमबाट टाढा र भौगोलिक रूपमा पनि बिकट रहेको सीमा क्षेत्रमा सरकारको उपस्थिति सून्य छ । यहाँ सरकारको कुनै संयन्त्रको उपस्थिति छैन । ४५ किलोमिटर लामो सीमाक्षेत्रमा भारतले आफ्नो भूमिलाई राम्रोसँग सुरक्षित गरेको छ । उसले प्रत्येक ६ किलोमिटरमा सीमा सुरक्षाबल राखेको छ । तर, नेपालबाट सरकारले सीमा सुरक्षामा कति पनि नजर राखेको पाइँदैन । नेपाल सरकारी उपस्थिति शून्य छ । सुरक्षा निकायको मात्र होइन स्थानीय सरकारको उपस्थितिसमेत छैन ।
याङबरको च्याङथापुमा सीमा प्रशासन कार्यालय त छ । तर, सीमा प्रशासन कार्यालयबाट सीमा क्षेत्र चिँवा भञ्जाङ पुग्न सबारी साधनमै करिब चार, पाँच घन्टा लाग्ने गरेको छ । सीमा क्षेत्र बस्तीहरूबाट टाढा छ । गाउँहरू टाढाटाढा मात्र छन् । सीमाको सुरक्षाका लागि बसेको नेपाल प्रहरी सीमा क्षेत्रबाट धेरै टाढा बसेका छन् । सरकारी उपस्ति नहँुदा बेला–बेला सीमा सुरक्षामा समस्या आउने गरेको च्याङथापुका रमेश राईले बताए ।
नेपालतर्फबाट सरकारको उपस्थिति नहँुदा भारतीय सीमा सुरक्षा बलले बेला–बेला नेपालतर्फको भूमिमा दुःख दिने गरेको स्थानीयहरू बताउँछन् ।
४५ किलोमिटर सीमाक्षेत्र हेर्दा विरक्तलाग्दो देखिन्छ । भारततर्फ सिक्किममा कञ्चजंघा नेसनल पार्क र वेस्ट–बंगालमा सिंहलीला नेसनल पार्कको रूपमा संरक्षित छ । सीमाक्षेत्रमा भारतीय वन कार्यालय पर्याप्त भेटिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्