लघुवित्त विकास बैंकको करोडौं लगानी जोखिममा

वीरगन्ज-ग्रामीण क्षेत्रका निम्न आर्थिक स्तर भएका समुदायलाई आयआर्जनमा सहभागी गराएर आर्थिक स्तर सुधार गर्ने अवधारणाले स्थापित समुदायमा आधारित लघुवित्त विकास बैंकहरूको लगानी पर्सामा भने जोखिममा परेको छ । ग्रामीण क्षेत्रका निम्न आयस्तर भएकालाई स–साना कर्जा सहुलियत ब्याजमा उपलब्ध गराएर विभिन्न आयआर्जन गर्न प्रोत्साहन गर्दै लगानी गरेको लघुवित्त विकास बैंकको लगानी ब्याजको लोभमा ग्राहकले नै जथाभावी लगानी गर्न थालेपछि जोखिममा परेको हो ।
साविकको वीरगन्ज उपमहानगरपालिका–१७ (हालको वीरगन्ज महानगरपालिका वडा नम्बर १४) पिपरामा बसोवास गर्दै आएकी साविक तनहुँ जिल्ला क्यामिन गाविस– १ की ५० वर्षीया कविता वाग्लेले ब्याजको प्रलोभनमा विभिन्न व्यक्तिको रकम लिएर भाग्ने प्रयास गरेपछि लघुवित्त विकास बैंकको रकम जोखिममा परेको तथ्य फेला परेको हो । पर्सामा सेवा दिइरहेका करिब एक दर्जन लघुवित्त विकास बैंक मध्य छिमेक लघुवित्त विकास बैंकमा ग्राहक सदस्य बनेर करिब ८ वर्षदेखि निरन्तर कर्र्जा लिएकी उनले अन्य बैंकमा पनि सदस्य बनेर कर्जा लिएकी छन् ।
त्यसबाहेक उनले सबै बैंकमा सदस्य ग्राहक रहेका महिला सदस्यसँग ब्याजको प्रलोभन देखाएर कर्जा लिन लगाई रकम लिएर तिर्न नसकेपछि सदस्यहरूले उनलाई दबाव दिएपछि भाग्न खोजेकी थिइन् । ब्याजमा लगाएको पैसा फस्ने डरले ती महिलाहरूले पनि ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार एक पटकमा १५ जनाले जाहेरी दिएको छ ।
उनीहरूले दिएको जाहेरीमा ४४ लाख ३९ हजार रुपैयाँ जोखिममा परेको उल्लेख छ । त्यसअघि पनि ५-६ जनाले कविता वाग्ले विरुद्ध जाहेरी दिएको पर्साका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्सामा कविता वाग्लेविरुद्ध जाहेरी पर्ने क्रम जारी रहेको उनले बनाए । यसमा मिटर ब्याजको पनि आशंका रहेकाले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक लिम्बुले बताए । कविताले लघुवित्त विकास बैंकबाट लगानी गरेको रकम मात्रै नभएर व्यक्तिहरूबाट पनि ब्याजमा रकम लिएकी छन् । उनी अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छिन् । उनले ब्याजको प्रलोभन देखाएर लघुवित्त विकास बैंकका महिलाहरूलाई फसाउने गरेकी थिइन् ।
महिलाले पनि ब्याजको प्रलोभनमा लघुवित्त विकास बैंकबाट कर्जा लिएर कवितालाई लगानी गर्ने गरेका थिए । जाहेरीपछि जिल्ला प्रहरी कार्यालय पर्साले पनि सबै लघुवित्त विकास बैंकलाई पत्राचार गरेर कविता वाग्लेसँग गरिएको कारोबारको तथ्यांक माग गरेको छ ।
पर्सामा सेवा दिइरहेका छिमेकी लघुवित्त विकास बैंक, निर्धन उत्थान बैंक, महिला अधिकार विकास बैंक, फरवार्ड लघुवित्त विकास बैंक, मेरो माइक्रोफाइनान्स लिमिटेड र बारामा सञ्चालित लक्ष्मी लघुवित्त विकास बैंक नौतन बहुअरी र नेसनल बैंक जितपुर बारालाई प्रहरीले पत्राचार गरेको हो ।
निर्धन उत्थान बैंक क्षेत्रीय कार्यालय वीरगन्जले माघ मसान्तसम्म बारा र पर्सामा मात्रै २ अर्ब ३४ करोड लगानी गरेको छ । ४७ हजार ७ सय ३० जना सदस्य संख्या रहेको बैंकमा ३२ हजार एक सय ५४ जनाले विभिन्न शीर्षकमा कर्जा लिएको क्षेत्रीय प्रमुख विष्णु पराजुलीले जानकारी दिए । “अहिलेसम्म निकै राम्रो अवस्था थियो । अब यस्तो घटनाले लगानीमा कडाई गर्नुपर्ने देखियो,” उनले भने ।
अर्को छिमेकी लघुवित्त विकास बैंकको पनि बारा पर्सामा २९ करोड ५२ लाख ९० हजार ३ सय ४० रुपैयाँ कर्जा लगानी गरेको छ । यो लघुविक्त विकास बैंकमा ४ हजार ४ सय १ जना सदस्य छन् । यो बैंकबाट कविताले पनि २ लाख ३० हजार कर्जा लिएको बैंकका शाखा प्रबन्धक महम्मद अजमदले जानकारी दिए । नयाँ खुलेका लघुवित्त विकास बैंकहरू सबैतिरबाट कर्जा लिँदै गएपछि धेरै कर्जा भएर समस्या आएको हुन सक्ने उनले बताए । अहिले लघुवित्त विकास बैंकहरूले नै एकअर्कामा प्रतिस्पर्धा गर्नुपरेपछि समस्या आउन थालेको उनी बताउँछन् । बैंकहरूले पनि ग्राहक संख्या बढाउनका लागि सहज रुपमा लगानी गर्ने गरेका कारणले यस्ता जोखिम आउने गरेको छ । लघुवित्तमा देखिएको यस्तो समस्याले गरिबी निवारणका लागि लगानी गर्ने समस्या देखिएको छ । साथै लगानी भएको लघुवित्तको करोडौं रकमको लगानी जोखिममा परेको छ । एउटा लघुवित्त विकास बैंकको २५ करोडको दरले औसतमा हिसाब गर्दा पर्सा–बारामा सञ्चालित सातवटा लघुवित्त बैंकको १७ अर्ब ५० करोड रुपैयाँ लगानी जोखिममा रहेको देखिएको छ ।