गोरखाका ८ स्थानीय तहद्वारा नीति कार्यक्रम र बजेट सार्वजनिक

गोरखाका–८ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री, सिरानचोक र गण्डकी गाउँपालिका बाहेक अन्य पालिकाहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्ना गाउँ र नगरसभामा पेस गरेका छन् । असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था रहे पनि तीन पालिकाले सार्वजनिक गर्न बाँकी छ । आवश्यक तयारी पूरा गरी छिट्टै नीति कार्यक्रम र बजेट ल्याउने सम्बन्धित पालिकाले बताएका छन् । संघ र प्रदेश सरकारले दिएको समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान तथा आन्तरिक आम्दानीका आधारमा पालिकाले बजेट सार्वजनिक गरेका हुन् ।
गोरखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९६ करोड रुपैयाँको बजेट प्रक्षेपणसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना प्रभावका कारण मर्कामा परेका व्यवसायीलाई व्यावसायिक करमा २५ प्रतिशत छुट र घरभाडा कर बुझाउने घर धनीहरूलाई सुरुको अवस्थामा ४ प्रतिशत मिनाहा दिने उल्लेख छ ।
बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड १४ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।
पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उसको नीति तथा कार्यक्रममा नगरपालिकाभित्र जन्मिएका बालबालिकाहरूलाई नगरपालिकाले २ हजार रुपैयाँ राखी खाता खोलिदिने कार्यक्रम सञ्चालन गर्ने, गर्भ जाँच गराउन आउने महिलाहरूलाई ‘सुत्केरी झोला’ दिने र नियमित गर्भ जाँच गर्नेलाई सुत्केरी भत्तामा ५ सय रुपैयाँ थप गर्ने उल्लेख छ । त्यस्तै ‘दुई रुपैयाँ राष्ट्रका लागि, मेरो लागि सदाका लागि’ भन्ने मूल नाराका साथ युवा लक्षित कार्यक्रम अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि गाउँपालिकाले ४६ करोड ६९ लाख १३ हजार ९सय रुपैयाँ बजेट सार्वजनिक गरेको छ । भीमसेन थापा गाउँपालिकाले ५८ करोड ७३ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा खानेपानी र सडक लगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताए ।
धार्चे गाउँपालिकाले आगामी वर्षका लागि ३८ करोड १७ लाख ५४ हजार बजेट प्रस्तुत गरेको छ । धार्चेले खेतीयोग्य जग्गा बाँझो राख्न नदिने निति ल्याएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भूमिको खण्डीकरण गरी बाँझो राख्ने चलनलाई निरुत्साहित गर्न भूमि बैंक स्थापना गर्ने बताए ।
सहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ४७ लाख ४० हजार ४ सय ५७ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सहिद लखनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड २० लाख रुपैयाँ विनोयोजन गरेको छ ।
आरुघाट गाउँपालिकाले कोरोना महामारीको अवस्थामा उत्पादन वृद्धिका लागि किसानलाई प्रोत्साहन दिने नीति लिएको छ । एक वडा एक उत्पादनको पकेट क्षेत्र घोषणा गरी उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।