जीर्ण भवनबाटै स्वास्थ्य सेवा दिँदै स्वास्थ्यकर्मी «

जीर्ण भवनबाटै स्वास्थ्य सेवा दिँदै स्वास्थ्यकर्मी

भोजपुर-चारैतिर जीर्ण बनेको भवन । पुरानो खिया लागेर प्वाल परेको जस्ताको छानो । कतिबेला भत्किने हो थाहा छैन । पानी चुहिन्छ । तर, त्यही भवनबाट स्वास्थ्य जस्तो संवेदनशील काम भइरहन्छ । स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्छन् । गाउँले सर्वसाधारणहरू सामान्य औषधि लिन पनि घण्टौं पालो कुर्छन् । यो ०७२ सालको महाभूकम्पले अति जीर्ण बनाएको षडानन्द नगरपालिका–१, नेपालेडाँडास्थित स्वास्थ्यचौकीको हविगत हो । जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ ।
ठेकदारको लापरबाहीले समयमै पक्की भवन नबन्दा विगत ५ वर्षदेखि उक्त जीर्ण भवनबाटै सेवा प्रवाह हुँदै आएको छ । दैनिक २५ को हाराहारीमा सेवाग्राही आउँदा जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या हुने गरेको स्वास्थ्यकर्मीहरू सुनाउँछन् । सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए । उनले भने, “चेकजाँच त परै जाओस्, सामान्य सिटामोल लिन पनि सास्ती छ, भवन कतिबेला भत्किएर किच्ने हो थाहा छैन ।”
पक्की भवन नहुँदा प्रसूति गराउने सुत्केरीलाई पनि अन्यत्र लैजानुपर्ने सास्ती छ । अन्य स्वास्थ्यचौकी अथवा खाँदबारी लैजानुपर्दा सुत्केरी महिलाको ज्यानलाई झन जोखिम हुने गरेको स्थानीय कविता भण्डारीले बताइन् । “स्वास्थ्यचौकीको भवन नहुँदा कि कुदाककाउले वडाको स्वास्थ्यचौकी कि खाँदबारी तार्नुपर्छ, सडक पनि राम्रो नहुँदा सुत्केरीको बाटैमा मृत्युसम्म हुने डर हुन्छ,” उनले सुनाइन् ।
व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने ग्रामीण सर्वसाधारण र स्वास्थ्यकर्मीले चरम सास्ती खेप्नुपरेको स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटाले सुनाए । ‘सामान्य औषधि वितरण गर्न पनि समस्या छ, कतिबेला ठूलो हावाहुरीले पनि भवन भत्किने हो पत्तो छैन,” उनले भने, “एउटा पक्की भवन नहुँदा जोखिम मोलेर स्वास्थ्य प्रवाह गर्नुपर्ने बाध्यता छ ।”
ठेकेदारको लापरबाहीले समयमै अस्पताल भवन नबन्दा जीर्ण भवनबाटै सेवा प्रवाह गर्न बाध्य रहेको स्वास्थ्यचौकीले जनाएको छ । उक्त अस्पताल भवन बनाउन ०७३ सालमा स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको टेन्डर खुलाएको थियो । भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्सन भोजपुरले सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महिनामा काम सम्पन्न गर्नेगरी स्वीकृति पाएपछि काम सुरु ग-यो । तर, कन्स्ट्रक्सनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै नआएपछि काम ठप्प भयो ।
स्थानीयले बारम्बार ताकेता गरेपछि कन्स्ट्रक्सनले काम थाले पनि सोचे अनुरूप कामले गति पाएन । विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण काममा ढिलाइ भएको स्वास्थ्यचौकी नेपालेडाँडाका इन्चार्ज राजनारायण मण्डलले बताए । १८ महिनामा सक्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले लापरबाही गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनले बताए ।

अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्