आईसीटी अवार्ड २०२० को अनलाइन नोमिनेसन सुरु «

आईसीटी अवार्ड २०२० को अनलाइन नोमिनेसन सुरु

सूचना प्रविधि क्षेत्रको आईसीटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेसन (आवेदन) सुरु भएको छ । लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने आईसीटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ गतेसम्म खुला गरिएको छ ।
कोरोनाको प्रभाव र महामारीको कारण आईसीटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको आयोजकले जनाएको छ । हरेक वर्ष १७ अगस्तमा आयोजना हुने अवार्डको फिनाले यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने आयोजकले जनाएको छ ।
यस वर्ष विभिन्न ११ विधामा आईसीटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड थप गरिएका नयाँ विधा हुन् । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड विधाहरू इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् ।
यसैगरी पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी र मिडिया पर्सन आईसीटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू छन् । डिजिटल गभर्नेन्स आईसीटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेसन आईसीटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरूलाई प्रदान गरिने अवार्ड विधाहरू छन् । सन् २०१६ देखि सुरु भएको आईसीटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन् ।
अवार्ड विजेताहरूलाई सम्मानसँगै सिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेताहरूलाई गत वर्षझै बैंकको सरल कर्जा र लगानीसँग जोडिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्