कैलालीका सबै स्थानीय तहले बजेट ल्याए «

कैलालीका सबै स्थानीय तहले बजेट ल्याए

धनगढी-कैलालीका स्थानीय तहहरूले पूर्वाधार विकास, स्वास्थ्य, कृषि र रोजगारलाई प्रमुख प्राथमिकता दिँदैं आगामी आर्थिक वर्षका लागि बजेट, प्रस्तुत गरेका छन् ।
कैलालीका एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाले बुधबार नगर-गाउँ सभामा आर्थिक वर्ष २०७७-७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । उनीहरूले कोभिड–१९ सँग लड्न स्वास्थ्य क्षेत्रलाई बलियो बनाउँदै लकडाउनका कारण जनताले गुमाएको रोजगार सिर्जना गर्न कृषि, पूर्वाधार र उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिकता दिएको जनाएका छन् ।

धनगढीको बजेट डेढ अर्ब बढी
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आउँदो वर्षका लागि साढे डेढ अर्बभन्दा बढीको बजेट ल्याएको छ । धनगढी उपमहानगरले आर्थिक वर्ष ०७७-०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको बजेट बुधबारको नगर सभामा सार्वजनिक गरेको हो । उपमहानगरपालिकाको पाँचौं नगर सभामा उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले उपमहानगरको आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै चालूतर्फ ८५ करोड र पुँजीगततर्फ ७८ करोड ८२ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् ।
बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, वित्तीय समानिकरण २९ करोड २ लाख, राजस्व बाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपूरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।
उपप्रमुख भट्टले बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यवस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चारमा विकासलाई प्राथमिकतामा राखिएको बताइन् । उनले आगामी वर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा विशेष जोड दिनुका साथै कृषि आधुनिकीकरण तथा ब्यवसायीकरणलाई उच्च प्राथमिकतामा राखेको बताइन् ।

चुरेको बजेट ४३ करोड
कैलालीको चुरे गाउँपालिकाले आउँदो वर्षका लागि ४३ करोड ३३ लाख ६१ हजार पाँच सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चुरेको गाउँ सभामा बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष दीपादेवी साउदले चालूतर्फ २० करोड ८२ लाख ४२ हजार र पुँजीगततर्फ २२ करोड ५१ लाख १९ हजार पाँच सय ३० रुपैयाँ विनियोजन गरेको बताइन् ।
उनले कोभिड–१९ का कारण बेरोजागर भएका गाउँपालिकाबासीलाई आजआर्जनमा सहभागी गराउन कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै कृषि र पशु सेवा ८० लाख रुपैयाँ छुट्याएको जनाइन् ।
चुरेले सबैभन्दा बढी र्पुूाधार विकासका लागि ६ करोड रुपैयाँ छुट्याएको छ । क्षेत्रगत विकासका लागि १ करोड ९७ लाख, शिक्षाका लागि ७१ लाख, स्वास्थ्यका लागि ४० लाख, सुशासनका लागि २७ लाख, लक्षितवर्ग कार्यक्रमका लागि ५० लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि ४ करोड ७५ लाख, कोरोना लक्षित विपद कोषमा ५० लाख, अन्य समपूरक कोषमा १ करोड २५ लाख विनियोजन गरेको उपाध्यक्ष साउदले बताइन् । वडा कार्यालयहरूलाई ३ करोड १५ लाख र सशर्त कार्यक्रमका लागि २० करोड ६३ लाख रुपैयाँ छुट्याएको उनले बताइन् ।

टीकापुरको बजेट ७१ करोड
टीकापुर नगरपालिकाले आउँदो वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार ५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका सातौं नगरसभामा नगर उपप्रमुख केशरी रावल विष्टले चालूतर्फ ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ रुपैयाँ र पुँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको जनाइन् ।
उनले वडास्तरमा सडक सञ्जाल विस्तारका लागि एक वडा एक गौरवको सडक योजनाअन्तर्गत ७ करोड २० लाख बजेट विनियोजन गरेको जनाइन् । उनले संघ, प्रदेश र दातृ निकायबाट प्राप्त आयोजना कार्यान्वयनका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्न १० करोड २६ लाख ४९ हजार ४ सय ५० रुपैयाँ बजेट छुट्याएको बताइन् ।
टीकापुर नगरपालिकाको समग्र शिक्षा क्षेत्रको विकासका लागि २२ करोड ३९ लाख ५२ हजार ७ सय १९ रुपैयाँ बजेट विनियोजन गरीएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उद्धारका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
टीकापुरले समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि ४ करोड ७८ लाख ९३ हजार ३६, कृषि विकासका लागि एक करोड १२ लाख ७६ हजार ७ सय ७९, पशुपन्छी विकासका लागि एक करोड ६९ लाख २८ लाख १ सय ४२ रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख विष्टले कोरोनासँग लड्न नगरपालिकाले स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको बताइन् । उनले वन, वातावरण तथा विपद व्यवस्थापनका लागि २ करोड १९ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ विनियोजन गरेको बताइन् ।

कैलारीको बजेट करिब ५१ करोड
कैलालीको कैलारी गाउँपालिकाले आउँदो वर्षका लागि ५० करोड ९५ लाख ६६ हजार ६ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा कैलारीकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले चालूतर्फ सात करोड ६० लाख रुपैयाँ र बाँकी बजेट सबै बजेट पुँजीगत विकासका लागि विनियोजन गरिएको बताइन् ।
कृषिलाई पहिलो प्राथमिकतामा राख्दै एक वडा एक उत्पादन कृषि पकेट कार्यक्रमलाई निरन्तरता दिंदै तीन करोड ५० लाख रुपैयाँ छुट्याइएको उनले बताइन् । उनले वन, वातावरण तथा विपद व्यवस्थापनका लागि दुई करोड, सामाजिक विकासका लागि तीन करोड, पूर्वाधार विकासका लागि पाँच करोड रकम विनियोजन गरिएको बताइन् ।
कैलारीका अध्यक्ष लाजुराम चौधरीले कृषि यान्त्रिकरण तथा बजारीकरण, दीर्घकालीन उत्पादन वृद्धि, बेमौसमी, बगर खेती, नदी नियन्त्रणका लागि उखु खेती, उन्नत जातिका बीउ वृद्धि, धान, गहुँको बीउ वितरण, एक सहकारी एक उद्योग लगायतका कार्यक्रम समावेश गरिएको बताए । उनले वैदेशिक रोजगारबाट फर्केका युवाका लागि सार्वजनिक गुठीको जमिन, सामुदायिक वन र अन्यक्षेत्रमा रोजगारको व्यवस्था गर्ने कार्यक्रम ल्याएको बताए ।

गौरीगंगाको बजेट ७८ करोड
गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७९ करोड ४० लाख ६३ हजारको बजेट ल्याएको छ । आठौं नगर सभामा नगर उपप्रमुख अञ्चला चौधरीले नगरपालिकाको आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालू खर्च जेठ मसान्तसम्म तर्फ ३५ करोड ९८ लाख १३ हजार हुँदा ४९.९८ प्रतिशत खर्च भएको छ । चालू वर्षका लागि ७० करोड ४० लाख प्रस्तावित बजेट रहेकोमा जेठ मसान्तसम्म ५८ करोड २१ लाख ५५ हजार आम्दानी भएको छ ।
आउँदो वर्षको बजेटमा आन्तरिक आय ५ करोड ८८ लाख ९७ हजार, वित्तीय समानिकरण १६ करोड ५४ लाख ७१ हजार, राजस्व बाँडफाँडबाट १३ करोड ४१ लाख ६५ हजार ६ सय, सशर्त अनुदान २१ करोड ६२ लाख, संघीय समपूरक अनुदान ३ करोड ४ लाख, प्रदेश सरकार समपूरक कोष अनुदान १ करोड ४० लाख ३० हजार, प्रदेश सरकार विशेष अनुदान ४९ लाख र सामाजिक सुरक्षा कार्यक्रम १७ करोड रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्