दोहोर आर्थिक वृद्धिको बाटो ऊर्जा : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले लक्ष्य राखेको दोहोरो वृद्धिदरको मुख्य बाटो ऊर्जा क्षेत्र नै रहेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले सोमबार आयोजना गरेको नवनियुक्त मन्त्री पुनको स्वागत तथा ब्रिफिङ कार्यक्रममा उनले दोहोरो आर्थिक वृद्धिका लागि ऊर्जा क्षेत्रको विकास गर्नुको विकल्प नरहेको बताए । १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी अघि बढ्ने जानकारी दिँदै उनले यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन दिइने बताए । “जीडीपीमा सबैभन्दा ठूलो योगदान ऊर्जाबाट हुने गरी संस्था निर्माण गर्नु आवश्यक छ,” उनले भने, “अहिले ऊर्जा उत्पादन गरेर एक खर्बभन्दा बढीको आयात प्रतिस्थापन गर्नुपर्छ, उद्योगदेखि चुल्होसम्मलाई विद्युत् पुराउनुपर्छ ।” उनले सरकारले ७ खर्बसम्म र निजी क्षेत्रले त्यसको दुईतिहाई अर्थात् १४ खर्ब रुपैयाँ गरी २१ खर्ब प्रत्येक वर्ष सरकारले लगानी गरी दोहोरो आर्थिक वृद्धिदर हासिल गर्ने गरी अघि बढ्नुपर्ने बताउँदै उनले अहिले निर्यातभन्दा पनि एक खर्बभन्दा बढीको ऊर्जा आयातलाई प्रतिस्थापनलाई विशेष ध्यान दिइनुपर्ने बताए । “सबैलाई विद्युत्को पहुँच पुराउनु आवश्यक छ, यसका लागि सरकारले नाफा र घाटाभन्दा पनि सामाजिक दायित्वलाई महत्व दिनु आवश्यक छ,” उनले भने, “देशमा राजनीतिक समस्या समाधान भइसकेकाले विकास र समृद्धिका लागि अघि बढ्नुपर्ने र यसको मुख्य आधार नै ऊर्जा हो,” उनले भने ।
कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालसम्म दुई करोड जनसंख्यामा मात्र विद्युत्को पहुँच रहेको उल्लेख गर्दै जलविद्युत् उत्पादन, वितरण र प्रसारण लाइनलाई विशेष महत्व दिएर प्राधिकरण अघि बढेको बताए । उनले प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीमार्फत १ हजार १७ मेगावाटका आयोजनाको निर्माण भइरहेको र २ हजार मेगावाट उत्पादन गर्ने गरी योजनाअघि बढाएको जानकारी दिए ।