भारतीय सेना हटाएर प्रधानमन्त्री पद त्याग

प्रधानमन्त्री : सरकार ! म राष्ट्र र जनताको पक्षमा एउटा निर्णय लिने निष्कर्षमा पुगेको छु, महाराजबाट साथ र सहयोगको खाँचो छ ।
राजा : त्यस्तो निर्णय के हो ? भन न ।
प्रधानमन्त्री : भारतीय सेना नेपालको उत्तरी सीमानामा बसेर छिमेकीविरुद्ध जासुसी गरिरहेका छन्, यसलाई अन्त्य गर्न सीमाको चेकपोस्ट हटाउने मेरो योजना छ महाराज ।
राजा : (एकछिन घोरिँदै) ठीक छ, तिम्रो सोच नेपालको सार्वभौम राष्ट्रको पक्षमा छ, निर्णय गर । मेरो पूर्ण समर्थन छ, तर एउटा सर्त मान्नुपर्छ तिमीले ।
प्रधानमन्त्री : (केही झस्किँदै), के सर्त हो सरकार ?
राजा : भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर तिमीले राजीनामा दिनुपर्छ, केहीपछि फेरि तिमीलाई नै म प्रधानमन्त्री बनाउँछु । यो निर्णय कूटनीतिक क्षमता र हाम्रो सार्वभौम राष्ट्रको पक्षमा हुनेछ ।
२०२७ साल जेठमा तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री कीर्तिनिधि विष्टबीच नेपालको उत्तरी सीमानामा स्थापना गरिएका भारतीय सैनिक चेकपोस्ट हटाउने विषयमा भएको संवाद हो यो ।
भारतीय चेकपोस्ट हटाउने निर्णय लिएर राजदरबार जाँदा भएको संवादबारे तत्कालिन प्रधानमन्त्री विस्टले सार्वजनिक समारोह र आफूसँगको भेटमा खुलस्त रुपमा भनेको नेपाल भारत मामिलाका जानकार तथा सीमाविद् वुद्धिनारायण श्रेष्ठको भनाइ छ । राजा महेन्द्रसँग भएको कुराकानीअनुसार नै विष्टले १९ वर्षपछि २०२७ असार ४ गते उत्तरी सीमानाका सबै भारतीय चेकपोस्ट हटाइदिए । चेकपोस्ट हटाएपछि उत्पन्न परिस्थिति सामना गर्नेगरी भएको आन्तरिक सहमतिअनुसार राजा महेन्द्रले प्रधानमन्त्री विष्टलाई पनि हटाए ।
“नेपालबाट भारतीय सेना फिर्ता पठाउन तत्कालिन राजा महेन्द्र र प्रधानमन्त्री विष्टबीचको कूटनीतिक दूरदर्शिता र क्षमता नभइदिएको भए आजपनि भारतीय सेना नेपालमा रहने खतरा थियो,” विष्टसँग सामिप्यता रहेका सीमाविद् श्रेष्ठ भन्छन्, “नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वभिमान जोगाउन विष्टले लिएको कदम सबै नेपालीका लागि गर्व गर्ने विषय हो ।” राजा महेन्द्र चेकपोस्ट हटाउने मौका कुरेर बसेको तर भारतले २०१९ सालको जस्तै पुनः नाकावन्दी लगाउन सक्ने र त्यसबाट जनताले दुःख पाउने भयले यसबारे निर्णय लिन नसकेको कुरा विष्टले आफूलाई बताएको सीमाविद् श्रेष्ठ सम्झन्छन् ।
नेपालको सार्वभौम राष्ट्र र राष्ट्रिय सुरक्षामा समेत प्रश्न उठ्नेगरी राखिएको चेकपोस्ट हटाइएपछि विष्टको राष्ट्रवादी छवि उच्च भएको थियो । उनै विष्टको शनिबार ९१ वर्षको उमेरमा निधन भएको छ । २००८ साल माघ २२ गते तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले तिब्बतमाथि जासुसी गर्ने योजनासहित भारतीय सेनाको चेकपोस्ट राख्न स्वीकृति दिएका थिए ।
२०१७ सालको राजनीतिक कू पछि महेन्द्रले ती चेकपोस्ट हटाउन प्रयत्न पनि गरे । अन्य प्रधानमन्त्रीहरूले पनि पहल गरे पनि नसकेको सीमाविद् श्रेष्ठको तर्क छ ।
उत्तरतर्फ चीनसँग जोडिएको ८ सय ८५ किमि लम्बाइमा भारतले वि.सं. २००८ देखि २०२७ असार २२ गतेसम्म अत्याधुनिक हातहतियार र सञ्चार सेटसहितका सैनिक दस्ता राखेको थियो । सीमाविद् श्रेष्ठका अनुसार उत्तरतर्फका १८ पोस्टमध्ये प्रत्येकमा १५ देखि २० जना भारतीय सेना र सहयोगीका रुपमा थप ५ देखि ७ जना नेपाली सेनाका जवान खटिने गरेका थिए । काठमाडौंस्थित भारतीय दूतावासमा समेत चेकपोस्टका लागि करिब डेढ सय सैनिक रिजर्भ फौजका रुपमा तैनाथ गराइएको थियो । चेकपोस्टका लागिमात्रै ५ सयको हाराहारीमा भारतीय सैनिक नेपालमा हतियारसहित आएका थिए । चेकपोस्ट हटाइएपछि विष्टमाथि भारतीयले चीनको पक्षपाती भन्दै अफवाह समेत फैलाएको थियो । विष्ट नेपाल र नेपालको सार्वभौमिकता विरुद्ध कहिल्यै सम्झौता नगर्ने र विगतमा गरिएका गलत सम्झौताको ठाडै परास्त गर्ने स्वभावका देशभक्त राजनेता भएको सीमाविद् श्रेष्ठको तर्क छ । २०३० सालमा सिंहदरबारमा आगलागी हुँदा पदबाट राजीनामा दिएका विष्ट नैतिकवान राजनीतिज्ञका रुपमा पनि परिचित थिए ।
सीमविद् श्रेष्ठ भन्छन्, “सरकार प्रमुख र राष्ट्रप्रमुख मिले भने देशविरुद्ध भएका कुनै पनि सन्धीसम्झौता र निर्णय खारेज गर्न कसैले पनि रोक्न सक्तैन भन्ने वलियो प्रमाण राजा महेन्द्र र प्रधानमन्त्री विष्टबीचको कूटनीतिक चातुर्यताले देखाउँछ ।”
पूर्वप्रधानमन्त्री विष्टको निधन
पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको ९१ वर्षको उमेरमा आफ्नै निवास नक्सालमा निधन भएको हो । विष्ट ३ पटक प्रधानमन्त्री भएका थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ मघ १९ मा शासनसत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषदका उपाध्यक्षसमेत बनाइएका थिए । उनको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
१९८३ माघ २ गते जन्मिएका विष्टले नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । राणा शासनविरुद्धको २००७ सालको क्रान्तिमा विष्ट सक्रियतापूर्वक लागेका थिए । २०१५ मा परामर्शदातृ सभाको सदस्य भएका विष्ट ०१८ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै २०२०, ०२२ र ०२८ गरी ३ पटक प्रधानमन्त्री भएका थिए ।