Logo

किसानका पीडा कसले सुन्ने ?

कृषि अनुदान दुरूपयोगको श्रृंखला निकै लामो छ र जनता भने नेक ब्लाष्टजस्ता रोगका कारण कृषि पेशाबाट वर्षैभरी ऋणको भार बोक्नुपर्ने अवस्थामा छन् ।

पूर्वी नेपालमा यतिबेला चैते धान भित्र्याउने चटारो भए पनि धानमा ‘नेक ब्लाष्ट’ नामक रोगका कारण उनीहरूको लगानी खेर गएको छ । धानको बालामा लाग्ने बेलामा अचानक यस्तो रोग लाग्दा मौसम अनुकुल भएको वर्ष पनि उनीहरूले बाली भित्र्याउन पाएनन् र खेती गर्दा उल्टै ऋण लाग्यो । कृषिप्रधान देश नेपालमा यस्ता समस्या बर्सेनि दोहोरिरहन्छन् । देशको मुख्यबाली धानमा मात्र नभइ तरकारीदेखि नगदेबाली, दुग्ध उत्पादन र फलफूलसम्म यस्तै नियति दोहोरिन्छ । कहिले रोगले उत्पादन ठप्प त कहिले मल बीउ नै नपाउने समस्या, कहिले मौसम प्रतिकुल भइदिन्छ भने कहिले उत्पादित वस्तुले बजारभाउ नपाउँदा खेतबारीमै मल बनाउनुपर्ने बिडम्बना छ ।
एकातिर कृषिमा प्रविधिको प्रयोग नहुँदा ठूलो जनशक्ति खेर गइरहेको अवस्था छ भने अर्कोतर्फ स्वदेशमै उत्पादन हुने वस्तुले आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी मूल्य नै नपाउने अवस्थाले कृषिप्रधान भनिने मुलुकको वास्तविकता दर्शाउँछ । यसैले नेपालका किसानका बर्सेनि कुनै न कुनै कारणले आँशु बगाउन विवश छन्, कृषि मन्त्रालय र समग्र सरकार (प्रदेश र स्थानीय तहसमेत)को कागजी प्राथमिकतामा कृषि परे पनि व्यवहारमा त्यो देखिन नसक्दा मुलुकले ठूलो मूल्य चुकाइरहेको छ । एकातर्फ कृषिजन्य वस्तु आयातकै कारण बढ्दो व्यापारघाटा र अर्कोतर्फ मुलुकभित्र उत्पादनशील जनशक्ति बेरोजगार बन्ने र कृषियोग्य जमिन भने बाँझो रहने अवस्था देखिन्छ ।
त्यसो त नेपालमा खेतीयोग्य जमिन बर्सेनि मासिँदो क्रममा पनि छ । ठूलो क्षेत्रफलमा कृषि व्यवसाय गर्न चाहनेका लागि जमिन उपलब्ध छैन भने भएको जमिन बाँझो छाड्नेमाथि सरकारले कुनै बाध्यकारी नियम लागू गर्न सकेको छ्रैन । टुक्रे खेतीको साटो एकीकृत खेती गर्ने र किसानलाई उत्प्रेरणा दिनेखालका सरकारी कार्यक्रम नहुँदा कृषि पेशातर्फ आकर्षित हुने अवस्था नै छैन । अहिलेसम्म कृषिका नाउँमा प्रवाह भएका अनुदानको फेहरिस्त तयार गर्ने हो भने नेपाल कृषिबाटै समृद्ध भइसक्नुपर्ने थियो । तर, किसानले प्रपोजल लेख्न जान्दैनन् भने प्रपोजल लेख्नेले खेती गर्न पनि जानेका हुँदैनन् । यसरी कृषि अनुदान दुरूपयोगको श्रृंखला निकै लामो छ र जनता भने नेक ब्लाष्टजस्ता रोगका कारण कृषि पेशाबाट वर्षैभरी ऋणको भार बोक्नुपर्ने अवस्थामा छन् ।
नेपालमा कृषिका समस्या के हुन् भन्ने सबैलाई थाहा नभएको पनि होइन । किसानदेखि नीति निर्मातासम्मलाई थाहा छ कि एकातिर कृषियोग्य भूमि मासिने, अर्कोतिर भएका जग्गा पनि खेती गर्ने जनशक्तिको अभावमा बाँझै रहने समस्या छ । यतिमात्र नभइ कहिले रासायनिक मल समयमा नपाइने, कहिले बोटमा फल नलाग्ने, कहिले खडेरी, कहिले बिचौलिया, कहिले बाढी–पहिरो । कहिले उत्पादनले बजार नपाउने । किसानका समग्र समस्याको फेहरिस्त सबैलाई कन्ठस्थ नै छ । दिनरात र घामपानी नभनी किसानले उत्पादन गर्ने खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य पदार्थ, माछामासु, फलफूल, अण्डालगायतका उत्पादन भण्डारण, बजारीकरणमा यतिबेला ठूलो समस्यो छ । यसैले किसानका पीडा बुझेर अघि बढ्न नसके सरकारले समृद्धिको रटान लगाउनुको कुनै अर्थ छैन किनकी हरेक दृष्टिकोणले कृषिभन्दा ठूलो पेशा नेपालका लागि अरु छैन । र हरेका वर्ष एउटै समस्याले कहिलेसम्म किसान पीडित भइरहने हो ?

प्रतिक्रिया दिनुहोस्