सिस्नुले दियो रोजगारी «

सिस्नुले दियो रोजगारी

जिल्लाकै दुर्गम क्षेत्र मानिने मैनामैनी माझगाउ“की भक्तकुमारी सार्कीको दैनिकी परिवर्तन भएको छ । दुई वर्ष अघिसम्म दुई रुपैयाँ कमाइ नहुँदा गाउ“ डुलेर दिन बिताउने सार्की अहिले व्यापारी भएकी छन् । दुई वर्ष अघिसम्म दुई रुपैयाँ नहुने सार्की अहिले एक दिनमै दुई हजारसम्म कमाउने भएपछि उनको दैनिकी बदलिएको हो ।
मैनामैनीकी सार्कीमात्रै होइन, एक वर्ष अघिसम्म वर्ष भरिमा ५-६ पटकमात्रै सदरमुकाम गाईघाट बजार आउने पोखरीका सन्तबहादुर राई हिँजोआज सातामा ३-४ दिन गाईघाट बजार आइपुग्छन् । सार्की र राईको पछिल्लो दैनिकी परिवर्तन हुनुको मुख्य कारण जिल्लाको पहाडी क्षेत्रमा खेर गइरहेको सिस्नु संकलन गरेर बिक्री गर्नु हो । पहिले दुई-चार रुपैयाँको खाँचो पर्ने उनीहरूमा अहिले सिस्नु बेचेरै लखपति भएका छन् ।
“करिब ५ वर्ष भयो, मैनामैनी र कटुन्जेबबलाको विभिन्न क्षेत्रमा संकलन गरेर रामपुर बजार सिस्नु बिक्री गर्दै आएको छु,” भक्तकुमारीले भनिन्, “५ वर्ष पहिले गाउ“घरमा ज्याला मजदुरी गरेर दिनमा दुई सय रुपैयाँ कमाइ हुन्थ्यो, ज्याला मजदुरी नपाएको दिन गाउ“ डुलेर बित्थ्यो ।” तर अहिले सातामा कम्तीमा २ हजार रुपैयाँ कमाइ हुने उनले बताइन् । सार्कीले रामपुर बजारमा प्रतिकिलोग्राम सय रुपैयाँका दरले सिस्नु बिक्री गर्ने गरेकी छन् । एकपटक ८ देखि १० किलोग्रामसम्म बिक्री गरेर महिनामा करिब ८ हजार रुपैयाँसम्म कमाइ हुने उनले बताइन् । बजारमा माग बढेकाले गाउ“घरको भीरपाखामा खेर गइरहेको सिस्नु अहिले आम्दानीको स्रोत बन्दै गएको उनको भनाइ छ ।
सार्की जस्तै राईले पनि सिस्नु बिक्री गरेर साताको २ हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताए । “सिस्नु टिप्न अहिले समस्या हुन्छ, बिक्री गर्न समस्या छैन,” मगरले भने, “गाईघाट बजारमा पुराएपछि तुरुन्तै बिक्री हुन्छ ।” बिक्तैन भन्ने समस्या छैन, सित्तैमा ल्याएर नगदमा बिक्री गरिने भएकोले सबै नाफा हुने उनले बताए ।
रौतामा स्थानीयले सिस्नुको धुलो बनाएर बिक्री गर्ने गरेपछि आफूले पनि सिस्नुको बारेमा जानकारी पाएको राईले बताए । सिस्नुको महत्व थाहा पाएपछि संकलन गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ । “अब खेतबारीको डिल र जंगलबाट संकलन गरेर होइन खेती नै गर्ने सोच बनाएको छु,” राईले भने, “अहिले पनि एक रोपनी क्षेत्रफलमा खेती सुरु गरेको छु ।” सिस्नु बिक्रीबाटै वार्षिक १ लाख बढी कमाइ हुन थालेपछि खेती गर्ने सोचमा रहेको उनले बताए । मधुमेह र उच्च रक्तचापको रोगिको संख्या बढ्दै जाँदा सिस्नुको व्यापार पनि बढेको छ । सिस्नुको दैनिक सेवनबाट मधुमेह र उच्च रक्तचापका बिरामीलाई राम्रो हुने चिकित्सकले सल्लाह दिएपछि बजारमा सिस्नुको माग बढेको हो । सिस्नुको मुन्टा र पातको तरकारी खाँदा र धुलोलाई पानीमा भिजाएर खाँदा मधुमेह र उच्च रक्तचापका बिरामीलाई फाइदा हुने चिकित्सकहरू बताउँछन् ।
गोपाल पोखरेल

प्रतिक्रिया दिनुहोस्