पहिरोबाट बिस्थापित परिवारलाई पुनस्र्थापना गर्न गृहको निर्णय «

पहिरोबाट बिस्थापित परिवारलाई पुनस्र्थापना गर्न गृहको निर्णय

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा जेठ ३१ मा गएको बिनाशकारी पहिरोका पीडितहरूलाई गृह मन्त्रालयले थप राहत र पुनस्र्थापना गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयले पहिरोबाट बिस्थापित परिवारलाई पुनस्र्थापनाका लागि घर बनाउन थप राहात दिने निर्णय गरेको हो ।
पहिरोको स्थलगत अनुगमनबाट फर्केपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलपछि गृह मन्त्रालयले राहत र पुनस्र्थापना गर्ने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । यसअघि जिल्ला बिपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई राहत दिएको थियो । समितिले हरेक मृतकलाई १ लाख रुपैयाँ दिन सक्छ । गृह मन्त्रालयले यस बाहेक थप रकम दिने निर्णय भएको हो ।
मन्त्रालयका बिपद् व्यवस्थापन महाशाखाका उपसचिव गणेशविक्रम शाहीले दिएको जानकारीअनुसार पहिरोमा विस्थापित १३ घरपरिवारलाई तुरुन्त अस्थायी घर निर्माण गर्नका लागि प्रतिघरपरिवार ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरको छ । उक्त ५० हजार रुपैयाँबाट अस्थायी घर निर्माण गर्न रकम अपुग भएमा थप ५० हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ । थप रकम उपलब्ध गराउनका लागि जिल्ला बिपद् व्यवस्थापन समितिले सिफारिस गर्नुपर्ने उनले बताए ।
यसैगरी पहिरोबाट अति जोखिमा परेका घरपरिवारहरूलाई बस्ती हस्तान्तरण गर्नुपर्ने वा नपर्ने विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन खानी तथा भूभर्ग विभागलाई जिम्मा दिने निर्णय पनि गरेको छ । बस्ती स्थान्तरण गर्नुपर्ने भए लागत स्टिमेटसहितको कार्ययोजना तयार गरी सहरी विकास मन्त्रालयले कार्य सुरु गर्ने निर्णयसमेत भएको छ । बस्ती स्तान्तरण गर्न नपर्ने भए पहिरोलाई नियन्त्रण गर्न र बस्तीलाई संरक्षण गर्नका लागि आवश्यक कार्य गर्न ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई जिम्मा दिने निर्णय भएको उपसचिव शाहीले बताए ।
कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा परी दुई घर परिवारका ९ जनाको मृत्यु भएको थिए । एक घर आधा भत्काएको छ । पहिरोबाट १३ परिवार घर छाडेर बिस्थापित भएका छन् । पीडितहरूलाई बिभिन्न सामाजिक संघ–संस्था र व्यक्तिले समेत निरन्तर सहयोग गरिरहेका छन् । पहिरो गएको भोलिपल्ट नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, संघीय सांसद पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अनुगमन गरेर विस्थापितलाई राहत र पुनस्र्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्