जापानी नागरिकको सहयोगमा विद्यालय निर्माण «

जापानी नागरिकको सहयोगमा विद्यालय निर्माण

जापानी नागरिक हरुताका सकाईको पहलमा सोलुदूधकुण्ड नगरपालिका–२ जुनवेशी माविको ९ कोठे विद्यालय भवन निर्माण गरिएको छ । भूकम्पप्रतिरोधात्मक विद्यालय भवनको आइतबार उद्घाटन गरिएको छ । २०७२ सालमा भूकम्पले विद्यालय भवन भत्किएपछि अस्थायी टहरामा पठनपाठन गरिँदै आएको भवनमा जापानको क्विटो युनिभर्सिटीले सहयोग संकलन गरी निर्माण गरिदिएको । 

सकाईको पहलमा प्राप्त ८२ लाख ४९ हजार, अन्य सहयोगी व्यक्ति तथा संस्थाको  करिब ४० लाख थप गरी एक करोड २० लाख ३१ हजारको लागतमा ४ कोठे र ५ कोठे दुईवटा विद्यालय भवन निर्माण गरिएको प्रध्यानाध्यापक चुङवाछिरी लामाले जानकारी दिए । जापानी नागरिक हरुताका सकाईले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै जापानी सहयोगी नागरिकबाट सहयोग संकलन गरी लगानी गरेको बताएका छन्  । 

त्यस्तै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे । विद्यार्थीलाई व्यावसायिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएकाले व्यावसायिक शिक्षा सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका उपमेयर कल्पना राईले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिका संवेदनशील रहेको बताइन् । उक्त भवन नयाँ शैक्षिक सत्रबाट प्रयोगमा ल्याइने विद्यालयले जनाएको छ । 

अमृता राई 

 

प्रतिक्रिया दिनुहोस्