स्थानीयकै सक्रियतामा बन्ने एकीकृत बस्तीका बासिन्दालाई लालपुर्जा «

स्थानीयकै सक्रियतामा बन्ने एकीकृत बस्तीका बासिन्दालाई लालपुर्जा

गोरखाको भीमसेन गाउँपालिका– ५ बगुवाको लामाचौरमा स्थानीय बासिन्दाकै सक्रियतामा बन्न लागेको एकीकृत बस्तीमा सामेल हुने घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । एकीकृत मिलन नमुना बस्तीमा बस्ने १३८ घरपरिवारलाई लालपुर्जा प्रदान गरिएको हो ।
कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. हरिराम पराजुली र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले लालपुर्जा वितरण गरेका हुन् । एकीकृत बस्तीका लागि स्थानीयबाटै जग्गा एकीकृत गरिएको छ । करिब २ सय रोपनी क्षेत्रफलमा बन्ने बस्तीमा ५ रोपनी जति सरकारी जग्गा छ । सरकारी जग्गा ब्यक्तिगत जग्गासँग सट्टाभर्ना दिने गरी प्रयोग गर्ने सहमति भएको छ । कतिपय स्थानीयले एकीकृत बस्तीका लागि जग्गादानसमेत गरेका छन् । बस्तीमा प्रत्येक घरधुरीलाई ६ आना जग्गा छुट्याइएको छ । १०५ रोपनीमा घर बनाउने र बाँकी जमिनमा गोठ, सामुदायिक भवनलगायतका संरचना बनाइने एकीकृत बस्ती निर्माणमा सक्रिय मिलनबस्ती सेवा समाजका महासचिव रामहरि श्रेष्ठले जानकारी दिए ।
एकीकृत बस्तीमा अशक्त, एकल महिला, अपांगता भएका तथा ज्येष्ठ नागरिकमात्र बस्ने ३० घर भने अक्सफाम र तुलसी मेहर युनेस्को क्लबले बनाइदिने भएका छन् । भूकम्पले घर भत्किएपछि बसोबासका लागि सरकारबाट धेरै अपेक्षा गर्नुभन्दा आफ्नो ठाउँको पुनर्निर्माण आफै गरौ भन्ने सन्देश दिन बगुवावासी एकजुट भएका हुन् । एकीकृत बस्ती निर्माणका लागि अघिल्लो वर्ष माघमा नै जग्गा एकीकृत गरी बस्तीको शिलान्यास गरिएको थियो । ‘मिलन बस्ती’ नाम दिइएको सो बस्तीमा साविकको बगुवा गाविसको ४ र ५ नं वडाका ४ गाउँका बासिन्दा बस्नेछन् । बस्तीमा रिठ्ठेपानी, धरमपानी, नयाँगाउँ र पाण्डेगाउँका १३८ घरधुरीलाई स्थानान्तरण गर्ने एकीकृत बस्ती निर्माणका सोमप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, “भूकम्पले ति ठाउँको जमिन बस्न नमिल्ने भएपछि विशेषज्ञको सुझावका आधारमा हामीले लामाचौरमा बस्ती सार्ने निर्णय गरेका हांै ।” घर बनाउन सरकारले दिएको अनुदान रकम अन्यत्र खर्च नहोस् भनेर एकीकृत बस्तीमा पर्ने सबै घरधुरीको पहिलो किस्ताको रकम एकमुष्ट रूपमा घ्याम्पेशालस्थित सांग्रिला बैंकमा पुनर्निर्माण समितिको खातामा राखिएको छ । एकीकृत बस्तीको डिजाइन बगुवा रिठेपानीका बासिन्दासमेत रहेका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डा. जगतकुमार श्रेष्ठले गरेका हुन् । उनका अनुसार बस्तीमा २ प्रकारका घर बन्नेछन् । आवश्यकता अनुसार एकतले र दुईतले घर बनाउन सक्ने गरी डिजाइन तयार भएको छ । इन्जिनियर श्रेष्ठले भने, “परम्परागत शैलीमा आधुनिक बस्ती बन्नेछ ।” फिल्डमा नै माटो, सिमेन्ट र बालुवा मिसाएर बनाएको ब्लकले संरचना बनाइनेछ । डिजाइनअनुसार प्रत्येक घर अगाडि २० फिट र घर पछाडि ५ फिटको सडक हुनेछ । ब्यवस्थित किसिमबाट ढल जडान गरिनेछ । सडकको दायाँबायाँ नै बिरुवा रोपेर हरियाली बनाइनेछ । एकीकृत बस्तीभित्र बालउद्यान, सभाहललगायतका संरचना पनि निर्माण गरिनेछ । एउटा घर बनाउन ७ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिए पनि अहिले महंगी बढेकाले केही रकम बढी लाग्न सक्ने इन्जिनिययर श्रेष्ठले बताए । इन्जिनियर श्रेष्ठका अनुसार बस्तीमा निजी घरबाहेकका अन्य संरचना बनाउनका लागि १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
एकीकृत बस्तीमा निजी घरबाहेकका पूर्वाधार निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सघाउने भएको छ । प्राधिकरणका कार्यकारी सदस्य डा. पराजुलीले भने, “यहाँ घरबाहेक आवश्यक अन्य पूर्वाधार बनाउन हामी सहयोग गर्छौं, बस्तीमा बस्नेहरूको जीविकोपार्जन सुधारका लागि पनि हामीले कार्यक्रम सञ्चालन गर्नेछौं ।” एकीकृत बस्तीमा एक घर बराम सहित नेवार र ब्राम्हण समुदायको बसोबास रहनेछ । गाउँलेकै प्रयासमा एकीकृत बस्ती बनाउन पाउँदा स्थानीय उत्साहित भएका छन् ।

अनुपमा खनाल

प्रतिक्रिया दिनुहोस्