सेयर कारोबार खुलाउः अर्थ समिति «

सेयर कारोबार खुलाउः अर्थ समिति

व्यवस्थापिक संसदको अर्थ समितिले धितोपत्र बजार खुलाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । सोमबार अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसहित पुँजी बजार अध्ययन उपसमितिका पदाधिकारी बोर्डमा पुगेर धितोपत्र सक्दो छिटो सञ्चालन गर्न निर्देशन दिएको हो ।
अर्थ समितिका सभापति दाहालले धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिएपनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको बताए । अध्ययन समितिसँग धितोपत्र बोर्डका पदाधिकारीको छलफलमा अर्थ समितिका सभापति दाहालले आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्राइ बजारको स्तर अभिवृृद्धि गर्नुपर्ने लगायतका लागिमार्ग निर्देश समेत गरे ।
छलफलमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दै केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिए । उनले पुँजीबजार संवेदनशिल बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको बताए । उनले पुँजी बजारको दिगो विकासको लागि वोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने तथा धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
छलफलका क्रममा सांसद मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राखेका थिए । पुँजी बजार अध्ययन उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसँग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने बताइन ।
छलफलमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि इडिआइसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभ कर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बताए । बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको समेत उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्