सुनचाँदी व्यवसायलाई उठाउन सरकारले राहत प्याकेज ल्याउनुपर्छ «

सुनचाँदी व्यवसायलाई उठाउन सरकारले राहत प्याकेज ल्याउनुपर्छ

स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रूपमा नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएकाले पनि त्यसको प्रत्यक्ष असर परेको हो । लकडाउन हुँदा तोलामा ७७ हजार रुपैयाँ रहेको सुनको मूल्य बढेर सोमबार ९१ हजार पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुरक्षित क्षेत्रका रूपमा सुन व्यवसाय रहेकाले यसप्रति लगानी आकर्षण बढ्दै गएकाले मूल्य अकासिँदै गएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रति १० ग्राममा २ हजार रुपैयाँ भन्सार दर बढाएकाले पनि मूल्य थप बढ्न गएको हो ।
कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा परिरहेको बेला सुनचाँदी व्यवसायमा समेत त्यसको प्रत्यक्ष प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले ११ चैतदेखि मुलुकभर लकडाउन गरेको थियो । लकडाउनका कारण सुनचाँदी व्यवसायमा प्रत्यक्ष रूपमा असर परेको छ । सामान्य अवस्थामा लगनको समयमा दैनिक ३० देखि ४० किलो सुनको खपत हुने गरेकोमा अहिले मुस्किलले ५ किलोसम्म मात्र खपत हुने गरेको छ । कोरोना भाइरसका कारणले गर्दा सुनचाँदी व्यवसायमा ठूलो असर परेको छ । लगातार सुनको मूल्य बढ्दै गए पनि उपभोक्तालाई समेत प्रत्यक्ष असर पारेको छ । सुनको मूल्य अझै बढ्दै जाने प्रक्षेपण गरिएको छ । कोरोना भाइरसले समग्र सुनचाँदी व्यवसायमा पारेको असर, मूल्य, कारोबार र व्यवसायमाथि उठाउनका लागि के–कस्तो कार्यक्रम ल्याउन आवश्यक छ, यीलगायतका समग्र सुनचाँदी व्यवसायमा केन्द्रित रहेर सुनचाँदी व्यवसायीहरूसँग गरिएको कुराकानीको सार :

कोरोनाले सुनचाँदीको कारोबार ठप्प पारेको छ
तेजरत्न शाक्य
पूर्वअध्यक्ष
नेपाल सुनचाँदी व्यवसायी महासंघ
विश्वभर फैलिएको कोरोना भाइरसका कारणले गर्दा पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको हो । कोरोना भाइरसले गर्दा विश्वको अर्थतन्त्र नै तहसनहस भएको छ, जसका कारणले गर्दा पनि लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित भएका छन् । सेयर बजार घट्दै गएकाले लगानीकर्ताले लगानीको सुरक्षित क्षेत्र सुन मानिएकाले पनि यसमा लगानी बढ्दै गएकाले सुनको मूल्य बढ्न गएको हो । सन् २०२० मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ८ सय डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यसले गर्दा स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार पुग्ने अनुमान गरिएको छ । सन् २०२० पछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैस २ हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ, त्यसपछि सुनको मूल्य तोलामा १ लाख पुग्न सक्छ । कोरोना भाइरसका कारणले गर्दा आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो । सुनको मूल्य बढ्नुको मुख्य कारण कोरोना भाइरस हो । सेयर बजार अस्थिर छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रति १० ग्राम सुनमा २ हजार डलर भन्सार दर बढाएकाले पनि सुनको मूल्य बढाउन थप सघाउ पु-याएको छ । मूल्य बढेकाले आन्तरिक बजार ठप्प छ । लकडाउनका कारण व्यापार–व्यवसाय बन्द हुँदा उपभोक्तासँग क्रयशक्ति छैन । एकातिर आमउपभोक्ता आफ्ना आधारभूत आवश्यकता पूरा गर्न व्यस्त छन् । अहिले सुनचाँदीको कारोबार हुन सकेको छैन । असारको महिना लगनको सिजन भए पनि सुनको मूल्य बढेकाले माग नै एकदम कम आएको छ । लगनको सिजन भए पनि सुनको मूल्य बढेकाले यसप्रति मानिसको आकर्षण हुन सकेको छैन । गत वर्ष असार महिनामा ४० देखि ४५ किलो सुन दैनिक खपत हुने गरेको थियो । तर, अहिले आएर मागमा निकै कम भई कारोबारमा एकदम न्यून ५ केजीमा झरेको छ । मूल्य बढेपछि पुराना गहना बिक्री गर्ने ग्राहक आउलान्, व्यवसाय कसरी सञ्चालन गर्ने भनेर अनुमान गरिएको थियो, तर अहिलेको स्थितिले त्यति बिक्री गर्न आएका छैनन् । पाटन, बनेपालगायत उपत्यकाबाहिरका जिल्लाहरूमा सुनको बिक्री छिटफुट भएको छ । सुनको मूल्य अझै बढ्ने अनुमान गरिएकाले ग्राहकहरू पर्ख र हेरको अवस्थामा पुगेका छन् । लकडाउन खुकुलो भए पनि अझै पाँचदेखि सात महिनासम्म हाम्रो व्यवसायमा सुधार आउने देखिँदैन । त्यसकारण महासंघले जिल्ला शाखा र व्यवसायीलाई जीउज्यानको सुरक्षामा ध्यान दिने र धैर्यधारण गर्नका लागि ध्यानाकर्षण गराएका छौं । सामान्य अवस्थामा वार्षिक ६० अर्ब रुपैयाँबराबरको सुनचाँदीको कारोबार हुने गरेको छ । सरकारलाई २० करोड रुपैयाँ राजस्व तिर्ने गर्छौं । अहिले कोरोना भाइरसका कारणले तीन महिनाको अवधिमा सुनचाँदी व्यवसायमा १५ अर्ब रुपैयाँबराबरको क्षति हुन पुगेको छ । बजार माग नभएकाले बैंकसँग पर्याप्त मात्रामा सुन स्टक छ । साथै सुनचाँदी व्यवसायीसँग पनि पर्याप्त मात्रामा सुन स्टक छ ।

सुनको मूल्य १ लाख नाघ्ने देखिन्छ
मणिरत्न शाक्य
पूर्वअध्यक्ष
नेपाल सुनचाँदी व्यवसायी महासंघ
आर्थिक वर्ष २०७६-७७ सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न गएको थियो । गत सेप्टेम्बरदेखि कोरोना भाइरसका कारणले मूल्य बढ्न गएको हो । चीन र अमेरिकाबीच व्यापारयुद्ध छ । दुई देशबीचको व्यापारयुद्ध, भन्सार घटाउने-बढाउने लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा दबाब परेको छ । अन्तर्राष्ट्रिय बजारमा सेयर बजार घटेका कारण त्यसको प्रभाव सुनमा परेकाले सुनको मूल्य वृद्धि भइरहेको थियो । एक्सेन्च दर बढेर एक सय १२ बाट बढेर १ सय २३ सम्म पुगेको थियो । यी कारणले गर्दा नेपाली बजारमा सुनको मूल्य बढ्दै गएको हो । ७७, ८०, ८९ हुँदै अहिले आएर ९१ हजार पुगेको छ । पछिल्लो समय कोरोना भाइरसका कारणले गर्दा सुनचाँदी व्यवसायमा ठूलो असर पारेको छ । बजारमा सुनको कारोबार नै एकदम न्यून छ । सिजनको समय भए पनि बजारमा चहलपहल हुन सकेको छैन । अत्यावश्यक पर्ने एक–दुई जनाले फाट्टफुट्ट खरिद पनि समग्र व्यवसाय ठप्प नै छ । यो वर्ष सुनचाँदी व्यवसायका लागि एकदमै कठिन परेको छ । मासिक रूपमा ६ अर्ब रुपैयाँबराबरको व्यापार घटा हुने गर्छ । साथै राजस्वमा समेत घाटा हुने गर्छ । त्यसका साथै रोजगारीमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । कारोबार ठप्प भए पनि कालिगढहरू पनि रोजगारविहीन भएर बसेका छन् । उनीहरूलाई सुनचाँदी व्यवसायी महासंघका तर्फबाट विभिन्न जिल्ला–जिल्लामा राहत वितरण गरिरहेका छौं । सुनचाँदी व्यवसायको क्षेत्रलाई कोरोना भाइरसले धेरै नै असर पारेको छ । कोरोनाका कारण धेरै नै प्रभावित हुने क्षेत्रहरूमा होटल, ट्राभल्स टुरिजमसम्बन्धी व्यवसाय, लघुवित्त, बैंकिङ कारोबार गर्ने क्षेत्र र सुनचाँदी व्यवसाय रहेका छन् ।
सुनको मूल्य बढ्नुका आधारहरू धेरै नै हुने गर्छन् । कोरोनाको असरले गर्दा विश्वको अर्थतन्त्रमा सुस्तता आएको छ । उद्योग–व्यवसाय बन्द भए, अमेरिकामा ४ करोड मानिस बेरोजगार भइसकेका छन् । यसले गर्दा विभिन्न देशमा मर्ने मानिसको संख्या पनि दिन–प्रतिदिन बढिरहेको छ । विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन थुपार्न थालेको अवस्था छ । पछिल्लो समय सुरक्षित लगानीको क्षेत्र सुन व्यवसाय मानिएकाले पनि यसप्रति लगानी बढ्दै गएको हो । विश्वकै सेयर बजार घट्न सक्ने भए पनि मानिसहरूले त्यसमा भएकाले पैसा निकालेर सुनमा लगानी गर्ने गर्छन् । यस कारणले गर्दा पनि सुनको मूल्य बढ्न गएको छ । विभिन्न अर्थशास्त्रीहरूले के भनेका छन् भने २०२०-२०२१ सम्म सुनको मूल्य प्रतिऔंस २ हजार डलर माथि जाने अनुमान गरेका छन् । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य १ लाखभन्दा माथि पुग्न सक्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैंस १७ सय डलर ४४ डलर हुँदा सुनको मूल्य ९१ हजार नाघिसकेको छ भनेर २ हजार डलर पुग्दा सुनको मूल्य १ लाख नाघ्ने देखिन्छ । यति बेला नेपाली सुनको बजार अस्तित्वमा नै नरहने हो कि भन्ने छ । सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा धेरै नै महँगो भए पनि कसले खरिद गर्ने ? ग्राहकले सुन किन्न नसक्ने अवस्था पनि व्यवसायीले बिक्री कहाँ गर्ने ? जसका कारणले गर्दा उद्योगीहरू अर्काे क्षेत्रमा लगानी गर्न जाने अवस्था आउन सक्छ ।
मुलुकभर अहिले २२ हजार सुनचाँदी व्यवसायीहरू रहेका छन् । ती व्यवसायीअन्तर्गत भएर काम गर्ने कालिगढ दुई लाख छन् । तिनका परिवार गर्दा १५ लाख जनसंख्या यस व्यसायमा आबद्ध छन् । १ असारदेखि बजार खुला गरेका छौं, तर कारोबार भने ठप्प नै छ । किन्ने एक जना आए पनि बिक्री गर्ने १० जना आउने गरेका छन् । अहिले बिक्री गर्नेको भीडभाड धेरै नै हुने गरेको छ ।

व्यवसायीलाई सस्तो ब्याजदरमा ऋण प्रवाह गर्नुपर्छ
मोहनबहादुर विश्वकर्मा
अध्यक्ष
नेपाल सुनचाँदी व्यवसायी महासंघ
कोभिड–१९ ले गर्दा विश्वको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ । त्यसमा नेपालको सुनचाँदी व्यवसाय पनि प्रत्यक्ष प्रभावित भएको छ । सरकारले अहिले पूर्ण रूपमा लकडाउनमुक्त घोषणा गरिसकेको छैन, जसका कारणले गर्दा पनि हाम्रो सुनचाँदी व्यवसाय पूरै ठप्प छ । अहिले पूर्णरूपमा बजार खुला नभएकाले सुनचाँदी व्यवसायमात्र नभएर सम्पूर्ण क्षेत्रका व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको छ । सुनचाँदी व्यवसाय अहिले कारोबार नै नभएर ठप्प छ । अहिले अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य उच्च अवस्थामा पुगेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सय ५२ पुगेकोे छ । आइतबार सुनको मूल्य प्रतिआंैस १ हजार ७ सय ४४ रहेको थियो । एकै दिन ८ डलर मूल्य बढ्न गयो । पहिलेदेखि नै मानिसहरूको आकर्षण सुनप्रति धेरै रहेकाले यसको मूल्य बढ्न गएको हो । अहिले कोभिड–१९ ले गर्दा व्यापार–व्यवसाय बन्द छन् । अन्तर्राष्ट्रिय बजारमा सेयर बजार घटिरहेकाले सुनप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएकाले पनि मूल्य बढ्न गएको देखिन्छ । आपूर्तिभन्दा माग धेरै भए पनि स्वाभाविक रूपमा बजारले आफै मूल्य निर्धारण गर्ने गर्छ । अहिले आएर अमेरिका, चाइनाबीचको व्यापारयुद्धका कारणले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न गयो । त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको छ । हाम्रो रुपैयाँ एकदम कमजोर छ । त्यसले गर्दा डलरमा खरिद गर्नुपर्दा मूल्य बढ्न गएको थियो । लामो समयदेखि बन्द रहेको सुनचाँदी व्यवसायीलाई माथि उकास्नका लागि राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमार्फत यस क्षेत्रलाई समेट्नका लागि हामीले केही सुझाव पनि राखेका छौं । व्यवसायलाई माथि उकास्नका लागि बैंकको ब्याजदरमा छुट दिने कुरा, किस्ता, करका कुरा, सुलभ ढंगले व्यवसाय गर्ने वातावरणका कुरा छन् । व्यवसाय गर्नका लागि छुट्टै सस्तो ब्याजदरमा व्यावसायिक ऋणको व्यवस्था गर्नुपर्छ । सरकारले व्यवसायीलाई सस्तो ब्याजदरमा ऋण दिनुपर्छ । लकडाउनका कारण व्यवसाय पूर्ण रूपमा ठप्प छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेका बेला सरकारले बजेटमार्फत भन्सारदर बढाएकाले त्यसको असर व्यवसायी र उपभोक्ता दुुवैलाई परेको छ । सुनचाँदी व्यवसायको कारोबार बन्द रहेको अवस्थामा सरकारले सुनमा भन्सारदर बढाएर थप पीडामाथि पीडा थपेको छ । यतिबेला भन्सार दर बढाउन उपयुक्त थिएन । लकडाउनका कारणले व्यवसाय बन्द हुँदा कालिगढहरू बेरोजगार भएका छन् । महासंघमार्फत राहत वितरण गरेका छौं, तर त्यसले पुगेको छैन । उनीहरूलाई काम दिन पनि सकेका छैनौं । एकातिर श्रमिक कालिगढले रोजगारी नपाएर समस्या छ भने अर्कातिर व्यवसायीलाई पनि व्यवसाय नचलेपछि बैंकको किस्ता, ब्याज, घरभाडा तिर्न समस्या छ । हाम्रो व्यवसाय मात्र नभएर सम्पूर्ण व्यवसायको अवस्था उस्तै छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । सुनचाँदी व्यवसायमा लगानी धेरै भएकाले क्षति पनि ठूलो हुने गरेको छ । लकडाउन पूर्ण रूपमा खुला भए पनि सुनचाँदी व्यवसाय तत्काल माथि उठ्न सक्ने अवस्था नभएकाले समग्र व्यवसाय नै धराशायी बन्ने अवस्थामा पुग्ने देखिन्छ । यस व्यवसायलाई माथि उठाउनका लागि सरकारले राहतका प्याकेज ल्याउनुपर्छ ।

लकडाउन अवधिको बैंक ब्याज छुट दिनुपर्छ
धर्मसुन्दर बज्राचार्य
महासचिव
नेपाल सुनचाँदी व्यवसायी महासंघ
कोरोना भाइरसका कारणले गर्दा तीन महिनादेखि बजार व्यवसाय बन्द नै छ । त्यसभन्दा अगाडि पनि गत वर्ष असार महिनादेखि सुनचाँदी व्यवसाय अलिकति सुस्त अवस्थामा गइरहेको थियो । त्यतिबेला हामीले बैंकमा भएको सुन पनि उठाउन सक्ने अवस्था थिएन । सुनको मूल्य बढेका कारणले गर्दा बजार चलेको अवस्था थिएन । बजारमा सुनको माग नै नआएपछि बैंकबाट सुन उठाउन सकिरहेका थिएनौं । त्यति सुस्त–सुस्त हुँदै गएको व्यापार गत दसैंमा अलिकति बढेको थियो । त्यसपछि मंसिरमा आएर व्यापारमा अलिकति पिकअप भएको थियो । गत चैतदेखि लकडाउन सुरु भयो । तीन महिनाको अवधिमा व्यापार पूर्ण रूपमा बन्द रह्यो । तीन-चार दिनयता लकडाउन अलि खुकुलो भएपछि अहिले १० प्रतिशत मात्र पसल खुला भएका छन् । ती पसलेले मूल्य बढेकाले बिक्री गर्न पाएका छैनन् । बजार बन्द हुँदा ७७ हजार मूल्य रहेको सुनको मूल्य अहिले बढेर ९१ हजार पुगेको छ । अझै पनि पूर्ण रूपमा बजार खुल्न सकेको छैन । एकातिर सामाजिक सुरक्षाको डर छ भनेर अर्कातिर शान्ति–सुरक्षाको पनि डर छ । सुनको मूल्य बढेकाले लुटपाट हुने डर पनि छ । यसमा पनि सचेत हुनुपर्ने अवस्था छ । अब बजारमा सुन खरिद गर्नेभन्दा पनि बिक्री गर्नेको संख्या धेरै हुने सम्भावना छ । सार्वजनिक यातायात खुला नभएकाले ग्राहक खरिद गर्न आउने सक्ने अवस्था छैन । लकडाउनको अवधिमा व्यवसायीहरूले जुन आर्थिक क्षति बेहोर्नुप-यो, सरकारले केही प्याकेज ल्याएको खण्डमा व्यवसायीलाई राहत हुन सक्छ भनेर बजेट भाषण अगाडि अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई सुझाव पनि पठाएका थियौं ।
व्यवसायीलाई दुई–तीन महिनाको बैंकले ब्याज छुट दिने व्यवस्था राष्ट्र बैंकले व्यवस्था गरिदिनुप-यो । घरभाडामा घरबेटीले केही छुट दिएको अवस्थामा व्यवसायीलाई राहत हुने थियो । अझै पनि एक वर्षसम्म सुनचाँदी व्यवसाय उस्किन्छ जस्तो लाग्दैन । जबसम्म ग्राहकको क्रयशक्ति बढ्दैन तबसम्म सुनचाँदी व्यवसाय माथि उठ्न सक्दैन । सुनको मूल्य पनि बढेर चरम सीमा नाघेको छ । हाम्रो जस्तो मुलुकमा आर्थिक अवस्था कमजोर भएका उपभोक्ताले सुनका गहना लगाएर शान्ति–सुरक्षा कायम हुन्छ भन्ने अवस्था पनि छैन ।
यसबीचमा गैरआवासीय नेपाली (एनआरएन) हरूले गरगहना किनेर लाने प्रावधान बढेको छ । अहिले विश्वभर समस्या परेको छ । रेमिट्यान्स पनि मुलुकमा भित्रन सकेको छैन । एनआरएनहरूले पनि सुन किनेर लान सक्ने अवस्था छैन । एक वर्षसम्म सुनचाँदी व्यवसाय धराशायी बन्ने अवस्था रहेकाले सरकारले ब्याज मिनाहा र घरबहालको सुविधा गर्दा अलिकति व्यवसायीलाई राहत मिल्छ । बजार खुलेपछि पनि बजारमा सुनको मात्रा धेरै आउने सम्भावना रहेकाले व्यवसायीलाई धान्न पनि कठिन हुन्छ । यस्तो अवस्थामा राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन जारी गरेर सुन बेच्न ल्याएको खण्डमा त्यस सुनलाई कसले होल्ड गर्ने । व्यवसायीलाई ऋण प्रवाह गराएर सुन लिन सक्ने व्यवस्था गराइदिनुप-यो होइन भने सरकारले नै सुन किन्ने निकाय खडा गरिदिनुपर्छ । सरकारले नै खरिद गरेको खण्डमा स्रोत पनि खुल्न सक्छ । सरकारको ढुकुटीमा सुन जम्मा गरेर पुनः व्यवसायीसँग आउने वातावरण हुन्छ । यसले गर्दा गैरकानुनी ढंगले आउने सुन निरुत्साहित हुन्छ, तर सरकारलाई राजस्व पनि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्