सुनको मूल्य तोलामा ९० हजार ६ सय

साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर ९० हजार नाघेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन तोलामा सात सय बढेर ९० हजार ६ सय पुगेको हो ।
विश्वभर फैलिएको कोराना भाइरसको कारणले गर्दा सुनमा लगानी आर्कषित भएकाले मूल्य बढ्न थालेको विज्ञहरुको भनाई छ । सेयर स्टक मार्केट घटिरहेकाले सुनमा सबैले लगानी गर्न थालेपछि मूल्य बढेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंश सुनको मूल्य एक हजार २६ रुपैयाँ रहेकोमा आइतबार १८ डलर बढेर १ हजार सात सय ४४ पुगेको हो । २०२० सम्म प्रतिआंैंश सुनको मूल्य एक हजार आठ सयसम्म पुग्ने प्रक्षेषण गरिएको छ ।
सो मूल्य अनुसार तोलामा ९३ हजार रुपैयाँ पुग्छ । सुनको मूल्य बढ्नेको मुख्य कारण कोरोना भाइरस हो, शाक्यले भने, “यसले गर्दा, आर्थिक क्षेत्र, सेयर बजार नै खस्केकाले लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्र मानी लगानी गरेकाले पनि मूल्य बढ्न गएको देखिन्छ ।” अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाई छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर प्रतिदश ग्रामका दुई हजार रुपैयाँ बढेकाले पनि मूल्य बढ्न गएको शाक्यको भनाई छ । भन्सार दर बढेकाले सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँ वृद्धि भएको छ ।
सुनको मूल्य लगातार आकासिँदै गएपछि लगनको सिजनमा पनि कारोबार शुन्य अवस्थामा रहेको छ । सामान्य अवस्थामा असर महिनामा दैनिक ३० देखि ४० किलो सुन खपत हुने गरेमा अहिले दैनिक ५ किलोमात्र बिक्री हुने गरेको छ । सुनको कारोबार ठप्प हुँदा व्यवसाय नै धरापमा परेको छ । यही असार १ गतेदेखि सुन पसल खुला भएपनि कारोबार भने हुन नसकेको व्यवसायीको भनाई छ । सामान्य अवस्थामा मासिक पाँच अर्ब रुपैयाँ बराबरको सुनचाँदी व्यवसायीको कारोबार हुने गरेको थियो ।
सुनचाँदी व्यवसायमा झन्डै १५ अर्बको नोक्सान भएको शाक्यले बताए । यसबाट सरकारलाई ६० करोड रुपैयाँ बराबरको राजस्व समेत गुमेको छ । कोरोना भाइरसको प्रभावले सुनचाँदीको कारोबार लामो समयसम्म नहुने हुँदा व्यवसाय सञ्चालन गर्न धेरै नै कठिन हुने व्यवसायीको भनाई छ । गत ११ चैतदेखि मुलुकभर लकडाउन भएको थियो । बजार बन्द हुँदा सुनको मूल्य प्रतितोला ७७ हजार थियो । बजार खुल्दा तोलामा १० हजार बढेर ८७ हजार पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै सुनको मूल्य ९० हजार नाघेको हो ।
लामो समयसम्म यस्तै रहने हो भने समग्र सुनचाँदी व्यवसाय नै धरासय हुने व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मुलुकभर २२ हजार सुनचाँदी व्यवसायी रहेका छन् । यस क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष गरेर पाँच लाख मानिस आवद्ध रहेका छन् ।