अतिक्रमण रोक्न कबुलियती वन «

अतिक्रमण रोक्न कबुलियती वन

जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाउँलाई कबुलियती वन वनाइएको छ । काभ्रेको पाँचखाल नगरपालिका–१० र १२ नं वडाको बेलाखोले सामुदायिक वनभित्र दुई ठाँउमा कबुलियती वन वनाइएको हो ।
बेलाखोले सामुदायिक वनभित्र १३ घर परिवारले अतिक्रमण गरेको ठाउँमा जुरेली थुम्का कबुलियती वन समूह र ८ परिवारले अतिक्रमण गरेको ठाउँमा सालथुम्की कबुलियती वन समूह वनाएर कामअघि बढाइएको छ । वनभित्रको १० हेक्टर अतिक्रमण गरेर मकै, गहुँ, आलुलगायतका अन्नबाली लगाइएको थियो । द्वन्द्वकालमा वन समितिलाई धम्क्याएर रुख कटान भएपछि गह्रागह्रा रहेको जुरेली थुम्का र सालथुम्कामा स्थानस्यले अतिक्रमण गरेका थिए । कुल १२३ हेक्टर वन पहिलेकै अवस्थामा पुराउनका लागि अतिक्रमण भएको ठाउँमा कबुलियती वनाइएको बेलाखोले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव प्याकुरेलले जानकारी दिए । उनका अनुसार अहिले कबुलियती वनाइएको ठाउँमा मकै गहुँको सट्टा कागती, कटहर, अम्बा, आँप, लिची, चाँप, लप्सी, सल्ला र हर्रो जातका फलफूल तथा रुखविरुवा रोपिएको छ ।
वन कार्यालयको रोहवरमा वन समितिले कबुलियती वन समूहलाई २० वर्षका लागि जिम्मा दिएको छ । पहिले जग्गा अतिक्रमणका लागि लागेका नै कबुलियती वन समूहमा बसेर वन जोगाउन लागेका छन् । अरूको लहैलहैमा लागेर जंगल फाँडेर बारी बनाएका जितबहादुर लामा नै वन जोगाउन लागेका छन् । उनी जुरेलीथुम्का कबुलियती वन समूहको अध्यक्ष छन् । “पहिला अरुले वन फाँडेर बारी बनाएपछि आफू पनि पछि लागेर वन फाँडेर बारी बनाइयो, अहिले आएर थाहा भयो अब संरक्षणमा लाग्छु ।” उनको समूहले फडानी गरेर बारी बनाएको ठाउँमा लप्सी, चाँप, अम्बा, आँप, कागतीलगायतका बिरुवाहरू रोपेर संरक्षणमा जुटेको छ ।

‘माकुरा’ ले मिलायो विवाद
सामुदायिक वन अतिक्रमण भएपछि समितिले जिल्ला वन कार्यालयलाई धेरै पटक ताकेता गर्यो । वन कार्यालयका कर्मचारी पनि त्यस ठाउँमा विवाद मिलाउन धेरै पटक पुगे तर विवाद मिलाउन सकेनन् । जिल्ला वनकै आग्रहमा २०७२ सालमा प्रकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले विवाद मिलाउन जब माकुरा समूह बनाएर काम सुरु गर्यो र २०५८ सालदेखि भएको विवाद नै टुंगियो । २०७२ साल पुस २८ गते वन कार्यालय, सामुदयिक वन समिति तथा केन्द्र बीचमा पूर्वतयारी बैठक बस्यो । चैत २७ गते समस्याको पहिचान र त्यसको समाधान खोजेर साझा सवाल प्रस्तुत भएपछि सबै पक्षको उपस्थितिमा १७ बुँदामा सहमति गर्दै विवाद टुंगिएपछि अहिले वन संरक्षणमा लागेका छन् । “केन्द्रले सुरुमा द्वन्द्व के हो ? कसरी उब्जियो ? कसरी झांगियो र द्वन्द्वले के प्रभाव पारेको छ विस्तृतमा बुझ्छ ।” आफूहरूको काम गर्ने तरिकाबारे जानकारी दिँदै प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रकी क्षेत्रीय संयोजक रमिला हुमागार्इंले भनिन्, “अनि द्वन्द्व समाधानको निर्णयले असर पर्ने र निर्णयलाई असर पार्ने पक्षहरू पनि पहिचान गर्छांै र सबै पक्षहरूलाई राखेर छलफलमा पुगेर द्वन्द्व समाधानमा लैजान्छौं ।”

कसरी मिलाइन्छ माकुरा समूहबाट ?
जसरी माकुराले विन्दुहरूमा पुगी धागोहरूलाई जोडेर जालो बनाउने काम गर्छ, त्यसैगरी काम गर्न सक्ने व्यक्तिलाई समावेश गरेर माकुरा समूह बनाइन्छ । माकुरा समूहको नेतृत्व लिने व्यक्ति दुवै समूहले पत्याएको र विश्वास गरेको व्यक्ति हुनुपर्छ ।
दुवै समूहबाट १–१ जना छानिएपछि तालिम दिइन्छ । तालिम लिइसकेपछि उनीहरूले आ–आफ्नो समूहको प्रतिनिधिहरूसँग भेटी सबैको समस्या सुक्ष्म रूपमा केलाउने प्रयास गर्छन् । दुवै समूहका सुक्ष्म कुरालाई लिएर दुवै पक्षको संयुक्त बैठक राखिन्छ र छलफल चलाइन्छ । छलफलमा निस्किएका विकल्पहरूको समीक्षा गर्दै माकुरा समूहका सदस्यले अगाडिको बाटो तय गर्छन् ।
माकुरा समूहले दुवै पक्षका साझा विकल्प दिएपछि विवादित दुई समूह एक विकल्पमा मान्न बाध्य हुन्छ । यो द्वन्द्व रूपान्तरण प्रक्रियाको निचोडमा पुग्ने चरण हो, र त्यसपछि दुवै समूह सहमतिमा आएर सहमति कार्यान्वयनमा लग्छन् । यही प्रक्रियालाई ‘माकुरा’ भनिन्छ ।

कपिल कोइराला 

प्रतिक्रिया दिनुहोस्