वीरगन्जमा थप पीसीआर मेसिनबाट चाँडै परीक्षण सुरु गरिने «

वीरगन्जमा थप पीसीआर मेसिनबाट चाँडै परीक्षण सुरु गरिने

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनबाट चाँडै कोरोना परीक्षण सुरु हुने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ–संस्था र पर्सेली नागरिकहरूको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेसिन शनिबार नारायणी अस्पताललाई महानगरपालिकाले हस्तान्तरण गरेसँगै अब यसको जडान गरेर परीक्षण छिट्टै सुरु गरिने भएको हो ।
महानगरपालिकाद्वारा खरिद गरिएको पीसीआर मेसिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायलाई शनिबार हस्तान्तरण गरे । पीसीआर मेसिन हस्तान्तरण र सञ्चालनको विषयमा वीरगन्ज महानगरपालिका र नारायणी अस्पतालबीच सम्झौता भएको छ ।
वीरगन्ज महानगरपालिकाको तर्फबाट मेयर विजयकुमार सरावगी र अस्पतालको तर्फबाट मेसु डाक्टर मदन उपाध्यायले हस्ताक्षरण गरेका छन् । पीसीआर मेसिन हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि तीन तहको सरकारबीच समन्वय अभाव देखिएको बताए । उनले प्रदेश सरकारको तर्फबाट व्यवस्थापनका लागि आर्थिक सहयोगको कुनै कमी नगरेका दाबी गर्दै संघ सरकारले कोरोना महामारी व्यवस्थापनमा केही पनि सहयोग नगरेको आरोप लगाए । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि अन्य प्रदेशले भन्दा बढी प्रदेश नम्बर २ सरकारले खर्च गरेको पनि दाबी गर्दै प्रदेशको क्वारेन्टिनको व्यवस्थापनको अवस्था बुझ्न केन्द्र सरकारबाट कसैले चासो नदेखाएको मुख्यमन्त्रीले गुनासो गरे ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले कोरोना भाइरस नेपालमा विस्तारै ७७ जिल्लामा पुग्ने अवस्था रहेकाले वीरगन्ज देशको मुख्य प्रवेशद्वार र आर्थिक गतिविधि हुने स्थान भएकोले पनि अझै पनि जोखिम कायम रहेकाले त्यही जोखिम कम गर्नका लागि पीसीआर मेसिनको आवश्यकता महसुस गरेर नै महानगरपालिकाले सहयोग आह्वान गरेपछि उद्योगी व्यवसायी र विभिन्न संघ–संस्थाहरूको सहयोगमा पीसीआर खरिद गर्न सफल भएको बताए । उनले पीसीआर मेसिन जडानपछि एकघरबाट एकजनाको परीक्षण गर्ने यसले समुदायमा कोरोना फैलिनबाट रोक्ने भएपछि पर्सा जिल्लालाई नै कोरोना मुक्त हुने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वीरगन्ज औद्योगिक तथा आर्थिक राजधानी भएको हुँदा जोखिम बढी रहेको र उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुर कर्मचारीहरू सबैभन्दा बढी जोखिममा रहेकाले उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले गरेको आह्वानमा सहयोग गरेको बताए । उनले अब पीसीआर मेसिन जडान भएपछि उद्योग कलकारखानाका मजदुरहरूको परीक्षणलाई प्राथामिकता दिन पनि अनुरोध गरे ।
उद्योगहरूमा काम गर्ने दक्ष कामदाहरू अहिले पनि भारतमा रहेको र कोरोना परीक्षण नहुँदा ल्याउन नसकिएको बताउँदै अब त्यो व्यवस्था मिलाउन पनि उनले स्थानीय, प्रदेश र संघ सरकारसँग अनुरोध गरे । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नारायणी अस्पतालमा अहिले एउटा मात्रै पीसीआर मेसिनबाट सर्लाहीसम्मका नागरिकको कोरोना परीक्षण गर्दा समय लाग्ने गरेको र अब दुइटा मेसिन भएपछि समय पनि कटौती हुने बताए । उनले महानगरपालिकाले खरिद गरेको मेसिन दोब्बर परीक्षण गर्न सकिने क्षमताको भएकाले पनि अब परीक्षणको दायरा बढ्ने र महानगरपालिकाले पर्सा जिल्लालाई नै कोरोना मुक्त बनाउन चालेको अभियानले सफलता पाउने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्जका औद्योगिक घराना तथा विभिन्न संघ, संस्था तथा व्यक्तिहरूले पीसीआर मेसिन खरिदका लागि सहयोग गरेका छन् । ६३ लाख ७५ हजार बराबरको पीसीआर मेसिनको मूल्य परेको र बाँकी रकमको भीटीएम किट, रीएजेण्टकिट लगायतका आवश्यक स्वास्थ्य सामग्रीहरूमा खर्च गरिने वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।

प्रतिक्रिया दिनुहोस्