गोरखाका ८ जना कोरोना संक्रमित डिस्चार्ज «

गोरखाका ८ जना कोरोना संक्रमित डिस्चार्ज

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन् । गोरखा अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएका २४ जनामध्ये ८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गोरखा अस्पतालले बिदाइ कार्यक्रमसहित उनीहरूलाई डिस्चार्ज गरेको हो । उपचारपछि निको हुनेहरूमा पालुङटारका १, भीमसेन थापाका २, गण्डकी गाउँपालिकाका ४ तथा काभ्रे घरभै गण्डकी गाउँपालिकामै बस्दै आएका १ गरी ८ जना पुरुष छन् । उनीहरूको दोस्रो पटकको स्वाव परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि १४ दिन फेरि होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । “हामीले टेकु र पोखरामा स्वाब संकलन गरी पठाएका थियौं,” उनले भने, “८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उहाँहरूलाई डिस्चार्ज गरेका हौं ।” अस्पतालले सबैलाई फूलको गुच्छा, मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामग्रीको प्याकेट र डिस्चार्ज पेपर सहित बिदाइ गरेको हो ।
डिस्चार्ज भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गण्डकी गाउँपालिका घ्याल्चोकका गणेश रानाले मनोबल उच्च भएमा कोरोनालाई सजिलै जित्न सकिने बताए । “संक्रमण भएको थाहा पाएपछिको २ र ३ दिन के होला कसो होला भन्ने लागेको थियो । “यहाँ आएपछि सर म्यामहरूको सल्लाह सुझावले मनोवल बढाउने काम गरेकोले हामी छिट्टै घर फर्किन पायौं जस्तो लागेको छ,” उहाँले भने, “अस्पतालको परामर्श दिने तरीका एकदमै राम्रो थियो, खानपानमा कुनै कमी भएन ।” उनीहरूलाई सम्बन्धित पालिकाले गाडीको व्यवस्था गरेर लगेका हुन् । गोरखामा ८ जना निको भएसँगै अब ३२ कोरोना संक्रमित उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस्