रूसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

रूसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पुटिनले ७६.६७ प्रतिशत मत प्राप्त गरेका हुन् । यो उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो ।
विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनी पुनः रूसको राष्ट्रपतिमा जित हासिल गरेको विश्वका सञ्चारमाध्यमहरूले समाचार प्रकाशन प्रशारण गरेका छन् । उनीहरूका अनुसार यहाँको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रूपमा घोषणा गर्न त बाँकी नै छ तर पनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिल गर्दै जितको नजिक पुगेका छन् ।
राष्ट्रपतीय चुनावमा यो उनको अपेक्षित नै जित हो । यससँगै अब रूसी राष्ट्रपतिका रूपमा पुटिनले थप ६ वर्ष रूसलाई नेतृत्व प्रदान गर्नुहुने भएको बताइएको छ । त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उनलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।
आइतबार रूसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरूले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् । यो उनको चौथो कार्यकाल हो । उनले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो ।
यस पटकको राष्ट्रपति निर्वाचनमा उहाँसहित आठ जना उम्मेदवार थिए । तर उनीपछि मत ल्याउने अर्थात् उनका निकटतम् प्रतिद्वन्द्वी भने पावेल रुदिनिन थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी रूदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।
यसैगरी यस निर्वाचनका अरू प्रतिस्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरूले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् । रूसको राष्ट्रपति पदका लागि यो जित एक किसिमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो । तर पनि यसपटकको मत भने उनको अस्वाभाविक धेरै आएको छ ।
अधिकारीहरू भन्छन्– सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गरेका थिए । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ । पुटिनले रूसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आएका छन् । पछिल्ला सर्वेक्षणहरूले उनलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियताभन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।
यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो ।
राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरूले उनले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रूपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।
जनताले मेरो कामको अनुमोदन गरे : राष्ट्रपति पुटिन
चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरूको एक सभालाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताएका थिए । उनले रूसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताए । “मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा आर्थिक वृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ,” उनले भने ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको बधाई
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले रूसी राष्ट्रपतिमा पुटिन निर्वाचित भएकोमा बधाई दिएका छन् । उनी रूसी राष्ट्रपति पुटिनलाई बधाई दिने पहिलो विदेशी राष्ट्रप्रमुख बनेका छन् । पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपतिले पुटिनलाई एक सन्देश पठाई बधाई दिएको समाचारमा जनाइएको छ ।
चिनियाँ समाचार समिति सिन्हकाअनुसार उनले पठाउनुभएको बधाई सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रूसबीचको सम्बन्ध थप सुदृढ बन्ने अपेक्षा गरिएको छ । पुटिनको नेतृत्वमा उनको आगामी छ वर्षे कार्यकालमा रूस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति सी जिनपिङले गरेका छन् ।